काठमाडौं । द ब्रिटिश कलेज, काठमाडौंले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत कलेजविरुद्ध फैलाइएका आरोपहरू पूर्ण रूपमा असत्य, भ्रामक र बदनियतपूर्ण रहेको स्पष्ट पारेको छ । कलेजले यथार्थपरक तथ्य सार्वजनिक गर्न बुधबार प्रेस विज्ञप्ति जारी गरेको हो ।
कलेजले आफू नेपालका सम्बन्धित नियामक निकायको स्वीकृतिमा सञ्चालन भइरहेको प्रतिष्ठित शैक्षिक संस्था भएको जनाएको छ । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग औपचारिक सम्झौतामार्फत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको र सबै कानुनी तथा संस्थागत मापदण्डको पूर्ण पालना भइरहेको कलेजको दाबी छ ।
विज्ञप्तिमा दुबईस्थित द वुलविच इन्स्टिच्युट (टीडब्लूआई) संयुक्त अरब इमिरेट्सको कानुनअनुसार सम्बन्धित नियामक निकायबाट मान्यता प्राप्त स्वतन्त्र शैक्षिक संस्था भएको उल्लेख छ । उक्त संस्थामा हाल २५ भन्दा बढी देशका ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।
द ब्रिटिश कलेजमा सञ्चालन हुने फाउन्डेसन कार्यक्रमहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त रहेको कलेजको भनाइ छ । हस्पिटालिटी म्यानेजमेन्ट (एचएम) फाउन्डेसन लेभल अध्ययनरत विद्यार्थीहरूलाई दुबईस्थित टीडब्लूआईमा हाईएर नेशनल डिप्लोमा (एचएनडी) अध्ययन गर्ने अवसर प्रदान गरिने र एचएनडी पूरा गरेपछि शैक्षिक योग्यता, संस्थागत मापदण्ड तथा भिसा नियमअनुसार दुबई, बेलायत वा अष्ट्रेलियाका साझेदार विश्वविद्यालयमा टप-अप ब्याचलर डिग्री
अध्ययन गर्नसक्ने व्यवस्था रहेको कलेजले जनाएको छ ।
इन्टर्नसिपका विषयमा कलेजले विद्यार्थीलाई व्यावसायिक सीप विकासका लागि अवसर उपलब्ध गराइने तर इन्टर्नसिपको ग्यारेन्टी नहुने कुरा भर्नाअघि नै स्पष्ट जानकारी दिइने गरेको उल्लेख गरेको छ ।
दुबई जाने विद्यार्थीहरूको प्रारम्भिक बसोबास सहज बनाउन तेस्रोपक्ष सेवा प्रदायकमार्फत अस्थायी आवासको व्यवस्था गरिने र सो व्यवस्था छोटो अवधिका लागि मात्र हुने कुरा सम्झौतामै उल्लेख गरिएको कलेजको भनाइ छ । प्रारम्भिक अवधिपछि दीर्घकालीन आवासको व्यवस्था विद्यार्थी आफैंले गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यासअनुसार रहेको कलेजले स्पष्ट पारेको छ। विद्यार्थीलाई बेवास्ता गरिएको, बेघर बनाइएको वा अलपत्र पारिएको भन्ने आरोप पूर्ण रूपमा झुटो रहेको कलेजको दाबी छ ।
कलेजका अनुसार हस्पिटालिटी म्यानेजमेन्टका करिब ५१ विद्यार्थीमध्ये ९ जना विद्यार्थी व्यक्तिगत असन्तुष्टिका कारण करिब तीन महिनापछि नेपाल फर्किएका हुन् । ती विद्यार्थीहरूका लागि डिसेम्बर १, २०२५ देखि सुरु हुने गरी इन्टर्नसिपको अवसर तय गरिएको थियो। विद्यार्थी फर्किएपछि कलेजले अभिभावक र विद्यार्थीसँग औपचारिक परामर्श प्रक्रिया अघि बढाएको र छलफलहरू पारदर्शी तथा सहमतिमूलक रूपमा सम्पन्न भएको कलेजले जनाएको छ ।
विज्ञप्तिमा केही विद्यार्थी तथा बाह्य समूहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै कलेजको पूर्वस्वीकृति बिना सामग्री प्रसारण गरेको, भ्रामक भिडियो र आरोप सार्वजनिक गरेको तथा क्याम्पसमा अवरोध र तोडफोड गरेको उल्लेख छ । समाधानका लागि कलेजले प्रहरी प्रशासनको उपस्थितिमा पटक–पटक औपचारिक बैठकको आह्वान गरे पनि संवादमा सहभागी हुन अस्वीकार गरिएको कलेजको भनाइ छ । यस कारण शैक्षिक वातावरण सुरक्षित गर्न सुरक्षानिकायको सहयोग लिनुपरेको कलेजले जनाएको छ ।
कलेजमाथि लगाइएका शोषण वा मानव तस्करीसम्बन्धी सबै आरोपहरू पूर्ण रूपमा अस्वीकार गर्दै कलेजले ती आरोपहरू मानहानीपूर्ण, आधारहीन र असत्य रहेको स्पष्ट पारेको छ ।
द ब्रिटिश कलेजले विद्यार्थीको हित, सुरक्षा र समग्र विकासलाई आफ्नो प्रमुख प्राथमिकता बताउँदै सबै शैक्षिक कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ । पठनपाठन, मूल्याङ्कन र परीक्षाहरू तोकिएको शैक्षिक क्यालेन्डरअनुसार नै सञ्चालन हुने कलेजको स्पष्टोक्ति छ ।
कलेजले विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई अपुष्ट र भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै गुणस्तरीय शिक्षा र जिम्मेवार शैक्षिक वातावरणप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ ।









प्रतिक्रिया