६ श्रावण २०८३, बुधबार

सपना आचार्यको दोस्रो कृति ‘उनले छोडेको उज्यालो’ सार्वजनिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन गरिएको छ ।

सामाजिक यथार्थ र मानवीय समवेदनामा आधारित उपन्यासपछि ‘उनले छोडेको उज्यालो’मार्फत आचार्यले व्यक्तिगत र आत्मपरक विषयलाई साहित्यिक रूप दिएकी छन् ।

पुस ७ गते आमाको वार्षिक पुण्य तिथिको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा लेखिकाका पिता कृष्णलाल आचार्यले कृतिको विमोचन गरेका थिए ।  मानव सेवा आश्रमका वृद्ध आमाबुबालाई भोजन गराएर पुस्तक सार्वजनिक गरिएको थियो ।

‘उनले छोडेको उज्यालो’ मूलतः आमाको निधनपछिको शोक, रिक्तता र स्मृतिमा आधारित संस्मरण हो । कृतिमा लेखकले भोगेको व्यक्तिगत पीडालाई मात्र होइन, आमा–छोरीबीचको सम्बन्ध, मातृत्वको गहिरो प्रभाव र जीवन–मृत्युको शाश्वत सत्यलाई भावनात्मक तर संयमित भाषामा प्रस्तुत गरिएको छ । आमा भौतिक रूपमा नहुँदा पनि उनले छोडेको संस्कार, ममता र मूल्यबोध कसरी सन्तानको जीवनमा उज्यालो बनेर रहिरहन्छ भन्ने पक्ष कृतिको केन्द्रमा छ ।

पुस्तकको भाषा सरल, आत्मीय र संवेदनशील छ । घटनाभन्दा अनुभूतिलाई प्राथमिकता दिइएकाले पाठक भावनात्मक रूपमा कथासँग जोडिन पुग्छ । शोकको अँध्यारोभित्र पनि आशा, चेतना र मानवीय करुणाको उज्यालो खोज्नु यस कृतिको मुख्य विशेषता हो ।

साहित्यकार आचार्यको पहिलो उपन्यास ‘मलिलो माटो’ २०७८ सालमा प्रकाशित भएको थियो ।

सोमबारदेखि बजारमा उपलब्ध ‘उनले छोडेको उज्यालो’ पुस्तकको मूल्य ५३३ रुपैयाँ राखिएको छ ।