काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउने हिसाबले अघि बढेको भन्दै विगतको कमजोरीलाई सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्ने बताए ।
उनले भने, ‘हामी सबै क्षेत्रमा ध्यान पुर्याएर देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउन चहान्छौँ । यीनै विचार र मान्यताका साथ हामी तपाईंहरुको माझमा आएका पनि छौँ । तपाईंहरुले हामीलाई विश्वास पनि गर्नु भएको छ । हामीलाई हौसला दिनुभएको छ । त्यो हौसलाले नयाँ पुस्तालाई आकर्षण पनि गरिरहेको छ । धेरै पार्टीका मानिस पनि पार्टी त्याग गरेर हाम्रो पार्टीमा आउनु भएको छ । हामीले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्न चाहिरहेका छौँ । त्यसकारण हामी इमान्दारिताका साथ देश रुपान्तरण गर्न चहान्छौँ ।’
यस्तै, उनले नेता बन्ने तर जनता समक्ष नजाने, जिम्मेवारी पूरा नगर्ने दुःख कष्ट नव्यहोर्ने कुरा मात्रै ठूलोठूलो गर्ने खालका प्रवृत्तिलाई पार्टीले छुट नदिने पनि बताए ।
उनले भने, ‘नेता बन्ने तर जनता समक्ष नजाने पद ओगट्ने जिम्मेवारी पूरा नगर्ने दुःख कष्ट नव्यहोर्ने कुरा मात्रै ठूलो ठूलो गर्ने त्यस्ता खालका प्रवृत्तिलाई हामीले छुट दिन सक्दैनौँ । नेताको वरिपरि पूजा गरेर बस्ने, नेताको प्रशंसा गरी बस्ने तर जिम्मेवारी पूरा नगर्ने यस्ता प्रवृत्तिलाई पनि छुट दिन सक्दैनौँ । हामी कार्यकर्ता, नेता र देश पनि राम्रो बनाउन चहान्छौँ ।’
जेनजी पुस्ताले अगाडि सारेका सुशासन र भ्रष्टाचार अन्त्यको मागलाई सम्बोधन गर्न पार्टी जुध्दै आइरहेका पनि उनको भनाई छ ।
उनले भने, ‘जेनजी पुस्ताले जुन अगाडि सारेका छन् चाहे त्यो सुशासनको नाराको कुरा होस्, चाहे भ्रष्टाचारको अन्त्यको कुरा होस् यस्तो कुराको लागि हामी जुध्दै आइरहेका छौँ । जुध्ने क्रममा नै मागहरु पनि अगाडि सारेका छौँ । तत्कालीन सरकारका प्रमुखहरुलाई माग पत्र बुझाएका पनि छौँ । जनताको माझमा गएका पनि छौँ ।’
जनताले आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा, बहुमत दिएको खण्डमा जनताको चाहनालाई साकार पार्नको लागि इमान्दारिताका साथ अगाडि बढ्ने पनि उनको भनाई छ ।








प्रतिक्रिया