काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५०० रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौं–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौं गोकर्णेश्वर–५ बस्ने २५ वर्षीय साइरज सुवेदी पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “पक्राउ परेकामध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै १९ लाख रुपैयाँ, विश्वकर्माले क्यानडा पठाइदिने भन्दै १९ लाख रुपैयाँ र सुवेदीले अमेरिका पठाइदिने भन्दै ११ लाख १४ हजार ५०० सय रुपैयाँ लिई विदेश नपठाएर सम्पर्कविहीन भएका उजुरीको आधारमा पक्राउ गरिएको हो ।”
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता अधिकारीले बताए ।








प्रतिक्रिया