५ श्रावण २०८३, मंगलबार

सर्लाहीको उखु खेतीमा भीषण आगलागी (तस्वीरहरु)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाहीको उखु खेतीमा भीषण आगलागी भएको छ । जिल्लाको गोडैता नगरपालिका– ४, रोहुवामा सोमबार दिउँसो उखुबालीमा भीषण आगलागी भएको हो ।

आगलागीबाट करिब ५० बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको उखुबाली पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको नगरप्रमुख देवेन्द्र यादवले बताए । प्रारम्भिक अनुमान अनुसार यस आगलागीबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागी विद्युतीय तार सर्ट भएर भएको थियो । स्थानीय किसान मुना चौधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौं किसानको उखु बाली जलेर नष्ट भएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

नगरप्रमुख यादवले आगलागीबाट प्रभावित किसानहरूका लागि नेपाल सरकार तथा मधेश प्रदेश सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेका छन् । साथै, उनले सम्पूर्ण नगरवासीलाई आगलागीको जोखिम न्यूनीकरण गर्न बाटो तथा खेतबारी आसपास पराल, पत्थर वा ज्वलनशील वस्तु नराख्न अनुरोध गरेका छन् । यसअघि खडेरी, त्यसपछि भीषण बाढी र अहिले काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखुबाली आगलागीले नष्ट भएपछि स्थानीय किसानको जीवनयापनमै गहिरो असर पारेको छ ।