३१ जेष्ठ २०८३, आइतबार

भारतबाट तस्करी गरी कपिलवस्तु ल्याइएको १८० बोरा मल बरामद

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–कृष्ण पौडेल

कपिलवस्तु । भारतबाट अवैध रूपमा तस्करी गरी नेपाल भित्र्याइएको १८० बोरा युरिया मल कपिलवस्तुमा बरामद गरिएको छ ।

सशस्त्र प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको फ्याक्ट्री परिसरबाट मल नियन्त्रणमा लिएको हो ।

स्थानीय तस्कर समूहसँग मिलेर ट्रकमार्फत भारतबाट ल्याइएको युरिया मल उद्योगभित्र भित्र्याइएको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तुला चौधरीले जानकारी दिए । उनका अनुसार बरामद गरिएको भारतीय युरिया मल र प्रयोग भएको ट्रक आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको छ ।

प्लाइउड उद्योग स्थानीय व्यापारी मनोज कनौडियाको स्वामित्वमा रहेको जनाइएको छ ।

स्थानीय प्लाइउड उद्योगहरूले युरिया मललाई प्लाइ टाँस्ने गोंदका रूपमा प्रयोग गर्ने गरेको पाइएको छ । कपिलवस्तुमा सञ्चालनमा रहेका करिब एक दर्जन प्लाइउड उद्योगहरूले अवैध रूपमा आयात गरिएको युरिया मल प्रयोग गर्ने गरेको आशंका गरिँदै आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।