१ श्रावण २०८३, शुक्रबार

‘न्याय पाउन कहिलेसम्म आन्दोलन गर्नुपर्ने ?’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । सडक दुर्घटनामा पीडितले न्याय पाउन ढुंगामुढा, सडक अवरुद्ध, सडकमा टायर बालेर प्रदर्शन गर्नुपर्ने परिपाटीको अन्त्य कहिले हुन्छ ? अहिले यो प्रश्न उदयपुरको बेलका नगरपालिकाका स्थानीयले गर्ने गरेका छन ।

गत मंसिर २६ गते साँझ साढे ६ बजेको समयमा बेलका नगरपालिका–३ नयाँ टोलस्थित रामपुर–भागलपुरको भित्री सडकखण्डमा ट्याक्टर दुर्घटनामा परी सोही वडाको कालीखोला बस्ने बाबुराम माझीको १६ वर्षीय छोरा समीर माझीको मृत्यु भएको थियो । तर प्रहरीले सवारीधनी र चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही सुरु नगरेको भन्दै स्थानीयले हिजो आइतबार दिनभर बेलका नगरपालिकाको रामपुर बजार क्षेत्रमा टायर बालेर मदन भण्डारी राजमार्ग अवरुद्ध गर्दै आन्दोलन गर्नुपर्‍यो ।

आइतबार दिनभर जसो अशान्त बनेको रामपुर बजार पीडितको किटानी जाहेरीसँगै ट्याक्टरधनी विक्रम पाण्डेको अनटेस्ट ट्याक्टर र चालक वर्ष २२ को विशाल पाण्डेलाई प्रहरीले पक्राउ गरेपछि आन्दोलन मत्थर भएको थियो । यद्यपि पीडित पक्षले अझै पनि आफुहरुको माग पूरा नभएको बताइरहेका छन् ।

बेलका नगरपालिका–३ को कोशी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत अति विपन्न परिवारका बाबुराम माझीका एक मात्र छोरा समीरको घटनास्थलमै मृत्यु भएको स्थानीयहरुको भनाई छ । उनीहरुले घटनास्थलमै मृत्यु भएका समीरको शव प्रहरीले आफ्नै भेनमा राखेर उपचारको नाममा स्थानीयलाई कुनै जानकारी नै नगरी लगेको, दोषीलाई समयमै नियन्त्रणमा लिएर कानुनी कारबाही सुरु नगरेकोप्रति अहिले पनि असन्तुष्टि जनाइरहेका छन् । उनीहरुले पीडितले न्याय पाउन कहिलेसम्म यसरी सडकमा आन्दोलन गर्नुपर्ने भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । उनीहरुले राज्यमा भ्रष्टाचारको अन्त्य र सुशासनयुक्त राष्ट्र निर्माणको लागि नयाँ सरकार गठन भइसक्दा समेत जनताले आफ्नो न्यायको लागि यसरी सडकमा भिख माग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग समेत राखेका छन् । सोही वडाका वडा अध्यक्ष टंक आचार्यले भने दुर्घटना गराउने ट्याक्टर कुन हो भन्ने नै टुंगो नलागेकोले दोषीका दुवै ट्याक्टर र ट्याक्टरधनी विक्रम पाण्डेलाई समेत पक्राउ गरेर अनुसन्धान हुनुपर्ने बताए ।

उता जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङले आफूहरुले पीडितको किटानी जाहेरीका आधारमा घटना घटाउने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिसकेको र कानुनी प्रक्रिया सुरु गरिसकेको बताउँदै यसमा प्रहरीले कसैलाई लाखा र कसैलाई पाखा नगरेको/नगर्ने समेत प्रतिबद्धता व्यक्त गरे । उनले घटना घटाउने ट्याक्टर र चालक ढिला नियन्त्रणमा आएको स्वीकार्दै त्यसबीचमा प्रहरी चुप नबसेको, दोषीलाई कानुन सम्वत कारबाहीमा ल्याउन प्रहरीले सुरुदेखि नै अनुसन्धान गरिरहेको बताए । प्रहरीले दोषीलाई उन्मुक्ति दिने, कानुनी दायरामा नल्याउने भन्ने हुँदैन तर कहिलेकाही घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन केही ढिला हुन्छ त्यसलाई नै अन्तिम आधार मानेर आन्दोलन गर्नु ठिक नहुने बताए ।

ट्याक्टर दुर्घटनामा मृत्यु भएका समीरको शवको अहिलेसम्म पोस्टमार्टम समेत हुन सकेको छैन । प्रहरीले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा दोषीलाई पक्राउ गरी कानुन अनुसारको प्रक्रिया सुरु गरेको बताउँदै पीडित पक्षले शवको पोस्टमार्टम गराउन सहजीकरण गर्ने र शव बुझ्ने काम गर्नुपर्ने बताएको छ ।