९ असार २०८३, मंगलबार

एमाले महाधिवेशन : ठूला–ठूला झाँकीसहितको र्‍याली आउने क्रम जारी, महाधिवेशनस्थल भरियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल करिब भरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा भइरहेको उद्घाटन समारोहको तयारी अवलोकन गर्दै उनले ठूला–ठूला र्‍यालीहरू निरन्तर रूपमा आइरहेको बताए ।

महाधिवेशन उद्घाटनस्थलमै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपमहासचिव ज्ञवालीले पश्चिमतर्फबाट थप ठूला र्‍यालीहरू आउँदै रहेकाले सहभागीको संख्या अझ बढ्ने उल्लेख गरे । ‘पश्चिमपट्टिबाट ठूला र्‍यालीहरू आउँदै छन्, तर कार्यक्रमस्थल करिब भरिन लागिसकेको छ,’ उनले भने ।

कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू पुगिसकेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पनि भरखरै कार्यक्रमस्थल पुगेका छन् ।

महाधिवेशन उद्घाटनस्थलमा दुवै दिशाबाट झण्डा, ब्यानर र नारासहित ठूला–ठूला र्‍यालीहरू प्रवेश गर्ने क्रम जारी छ ।

नेताकार्यकर्ताहरूको उल्लेख्य उपस्थितिका कारण तीनकुनेस्थित नेपाल ट्रष्टको मैदान साँघुरो बन्न थालेको छ । प्रतिनिधि तथा सहभागीहरू ठाउँ सुरक्षित गर्न कार्यक्रम सुरु हुनुअघि नै मैदानमा पुग्ने क्रम बढेको छ ।

यसैबीच, उद्घाटन कार्यक्रमको पूर्वसन्ध्यामा महाधिवेशनस्थलमा विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन भइरहेको छ । देशका विभिन्न भू–भाग र समुदायको पहिचान झल्किने झाँकीहरू मैदानमा प्रवेश गरिरहेका छन्, जसले महाधिवेशनको माहोललाई थप उत्साहपूर्ण बनाएको छ ।

महाधिवेशनको उद्घाटन कार्यक्रम केही समयपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यसूची रहेको छ ।

एमालेले ११ औं राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्त्वको महाधिवेशनका रूपमा लिएको छ ।