२१ जेष्ठ २०८३, बिहिबार

११ औं महाधिवेशनमा सहभागी हुन यस्तो छ एमाले रामेछापको विशेष तयारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । नेकपा (एमाले) रामेछापले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरूलाई तोकिएको स्थान र समयमा उपस्थित हुन अनुरोध गरेको छ ।

एमाले रामेछापले जारी गरेको सूचनाअनुसार रामेछाप जिल्लाबाट सहभागी हुने सबै नेता तथा कार्यकर्ताहरू भक्तपुरको ठिमीस्थित एसएस चोकमा बिहान ११ बजे अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ । सोही स्थानबाट महाधिवेशन उद्घाटन समारोहका लागि जुलुससहित सहभागिता जनाइने पार्टी अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए ।

एमाले रामेछापका अनुसार जुलुसलाई व्यवस्थित र आकर्षक बनाउन विशेष तयारी गरिएको छ । जुलुस व्यवस्थापनअन्तर्गत सबैभन्दा अगाडि माइकिङ गाडी रहनेछ भने गाडीको पछाडि प्रचार टोली रहने व्यवस्था मिलाइएको छ । जुलुसमा ब्यानर, पञ्चेबाजा, डम्फु तथा तामाङ सेलो रहनेछ ।

त्यसपछि जुलुसमा लिखुतामाकोशी गाउँपालिकाको सहभागिता हुनेछ । त्योसँगै माझी समुदायको झाँकी, सुनुवार समुदायको झाँकी तथा मन्थली नगरपालिकाको सहभागिता रहने जानकारी दिइएको छ । साथै, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकाबाट समेत नेता तथा कार्यकर्ताहरूको संगठित सहभागिता रहने एमाले रामेछापले जनाएको छ ।

कडरियाका अनुसार विविध सांस्कृतिक झाँकी र स्थानीय तहहरूको सहभागिताले जुलुसलाई पहिचानसहितको बनाउनेछ । यसमार्फत पार्टीको एकता, संगठनात्मक शक्ति र स्थानीय विविधता महाधिवेशन उद्घाटन समारोहमा प्रस्तुत गर्ने उद्देश्य रहेको जनाइएको छ ।

रामेछापबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

एमाले रामेछापले सबैलाई समयमै उपस्थित भई अनुशासित र मर्यादित रूपमा कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ ।