काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि शुभकामना दिएकी छन् ।
एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले सामाजिक सञ्जालमा लेख्दै महाधिवेशन सफल हुने विश्वास व्यक्त गरेकी हुन् ।
महाधिवेशनमा सहभागी हुन देशका विभिन्न स्थानबाट काठमाडौं आएका प्रतिनिधिहरूलाई स्वागत गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)का आधारभूत मान्यताहरू आत्मसात् गर्दै योग्य तथा सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गरिन् ।
‘तपाईं महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता समेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ । यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु ।’ पूर्वराष्ट्रपति भण्डारीले एक्समा लेखेकी छन्, ‘मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस्, हार्दिक शुभकामना !’










प्रतिक्रिया