२६ जेष्ठ २०८३, मंगलबार

आजबाट एमाले महाधिवेशन, मञ्च निर्माणसहित सम्पूर्ण तयारी पूरा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटनस्थलको मञ्च निर्माणसहित सम्पूर्ण तयारीको काम रातको पौने दुई बजे सम्पन्न भएको छ ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा अन्य संरचनाको काम गएराति ढिलासम्म निरन्तर रूपमा सञ्चालन गरी अन्तिम रूप दिइएको हो ।

एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले मञ्च निर्माणका सबै काम पूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए । उनका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, प्रतिनिधि बस्ने व्यवस्था, सुरक्षा घेरा तथा व्यवस्थापनसम्बन्धी सबै संरचनाहरू तोकिएको समयमै तयार पारिएको छ ।

‘महाधिवेशन उद्घाटनका लागि आवश्यक सबै भौतिक तयारी पूरा भइसकेको छ, अब आजको कार्यक्रम निर्विघ्न रूपमा सञ्चालन हुने वातावरण बनेको छ,’ उनले भने ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै औपचारिक रूपमा महाधिवेशनको शुभारम्भ गर्नेछन् । उद्घाटन कार्यक्रममा देशभरका प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुक, पार्टी नेता तथा कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने बताइएको छ ।

महाधिवेशनस्थल सल्लाघारी क्षेत्रमा आज बिहानैदेखि देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको आवागमन बढेको छ ।

प्रतिनिधिहरू कार्यक्रमस्थल अवलोकन गर्ने, फोटो खिच्ने र दर्ता प्रक्रियामा सहभागी हुने क्रमसँगै चौर वरपरको वातावरण उत्साहपूर्ण बनेको छ ।

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको छ भने ट्राफिक व्यवस्थापनलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

एमालेले ११ औं राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा, नीति, कार्यक्रम र संगठनात्मक सुदृढीकरणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण महाधिवेशनका रूपमा लिएको छ ।

उद्घाटन समारोहपछि महाधिवेशनका औपचारिक कार्यसूचीअनुसार बन्दसत्र, दस्तावेजमाथि छलफल, संशोधन प्रस्ताव र नेतृत्व चयनसम्बन्धी प्रक्रिया क्रमशः अघि बढ्ने जनाइएको छ ।

पार्टी नेतृत्वका अनुसार यो महाधिवेशनले वर्तमान राष्ट्रिय राजनीतिमा देखिएका चुनौतीहरू, आर्थिक तथा सामाजिक समस्याका सन्दर्भमा एमालेको स्पष्ट धारणा प्रस्तुत गर्ने र संगठनलाई थप मजबुत बनाउने आधार तय गर्ने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहसँगै सुरु हुने महाधिवेशनका गतिविधिले आगामी दिनमा एमालेको आन्तरिक संरचना र राष्ट्रिय राजनीतिको दिशा निर्धारणमा महत्त्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ ।