३१ जेष्ठ २०८३, आइतबार

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।

भक्तपुरको सल्लाघारीस्थित विशाल चौरमा मध्यान्न १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

महाधिवेशनका लागि देशभरबाट नेता तथा कार्यकर्ताहरु काठमाडौं आउनेक्रम जारी रहेको छ । विभिन्न क्षेत्रबाट आएका विशाल र्‍याली महाधिवेशनस्थल सल्लाघारीमा पुगेर सभामा परिणत हुनेछ ।

उद्घाटन सत्रमा सहभागी हुन विभिन्न जिल्ला र प्रदेशबाट आउने सवारी साधनका लागि यातायात व्यवस्थापन पनि सार्वजनिक गरिएको छ । कोटेश्वरबाट गट्ठाघरसम्म सवारी आउन सकिने र त्यहाँ रहेको नागरिक उड्डयन प्राधिकरणको खुला चौरमा पार्किङको व्यवस्था मिलाइएको छ ।

काभ्रेतर्फबाट आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङ क्षेत्र पार्किङ साइटको रूपमा तोकिएको छ । गट्ठाघर र जगाती दुवैतर्फबाट विशाल र्‍याली निकाली कार्यक्रमस्थल प्रवेश गरिने व्यवस्था गरिएको छ ।

उद्घाटन सत्रमा तीन लाख बढी नेता तथा कार्यकर्ता सहभागी हुने एमालेले जनाएको छ ।

महाधिवेशन शान्तिपूर्ण र व्यवस्थित बनाउन ५ सय बढी स्वयंसेवक ड्रेसकोडसहित खटिने र जनसेवा व्यवस्थापनका लागि १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन हुने बताइएको छ ।

महाधिवेशन उद्घाटनस्थलमा लिच्छविकालीन चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्वपूर्ण मन्दिरहरूको संरचना समेटिएको नेपालकै इतिहासमा पहिलोपटक ठूलो तथा कलात्मक मञ्च निर्माण गरिएको छ ।

मञ्चको दायाँबायाँ ३०/३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन जडान गरिएको छ भने तीन किलोमिटर परसम्म स्पष्ट सुनिने गरी ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम राखिएको छ । देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि निमन्त्रणा गरेको छ ।

तीन दिनसम्म जारी रहने महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ ।