७ श्रावण २०८३, बिहिबार

प्रतिनिधि सभा निर्वाचन : उदयपुरबाट कांग्रेसका ६ जना सिफारिस

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । नेपाली कांग्रेस उदयपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहको उदयपुरमा कांग्रेसले प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको हो ।

कांग्रेस उदयपुरले निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्कासहित संविधान सभा सदस्य लक्ष्मी परियार र विदुर बस्नेतको नाम सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट सञ्जीव थापा, कृष्णकुमार श्रेष्ठ र सरस्वती ढुंगानाको नाम सिफारिस गरिएको कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले जानकारी दिए ।

बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । बैठकले समानुपातिकतर्फ नारायणबहादुर कार्की, सत्यनारायण चौधरी, सिता राई र रामकुमारी साहको नाम सिफारिस गरेको छ ।

यसैगरी, राष्ट्रिय सभा निर्वाचनको लागि जिल्लाबाट नौ नाम सिफारिस भएको छ । जसमा हेरम्बबहादुर थापा, अर्जुनकुमार खड्का, प्रमिला राई, भोजराज खतिवडा, गोविन्द चाम्लिङ, जनमजय राई, सुमन परियार, हिरामान मोते र सज्ना दनुवार छन् । सिफारिस भएका सबै पुरानै नेताहरु हुन् ।

प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक, राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका नामहरु आगामी दिनमा हुने स्थानीय तह र प्रदेश सभा निर्वाचनमा सिफारिस नगरिने उदयपुर कांग्रेसले जनाएको छ ।

कांग्रेस उदयपुरका सभापति कार्कीले आफूहरुले पार्टीमा पुर्‍याएको योगदान, जनमत लगायत सबै पक्षको अध्ययन गरेर उमेदवारको नाम सिफारिस गरेको बताए । उनले भोलिका दिनमा हुने स्थानीय तह र प्रदेश सभा निर्वाचनमा अहिले सिफारिस भएका नामहरु सिफारिस नहुने समेत स्पष्ट पारे ।

बैठकले पार्टी केन्द्रको केन्द्रीय १५ औं महाधिवेशन समयमै सम्पन्न गराउन जिल्लामा हुने सम्पूर्ण कामहरु समयमै सम्पन्न गर्ने पनि निर्णय गरेको छ ।

बुधबार क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएका उम्मेदवारको नाम प्रदेश कार्यसमितिलाई सिफारिस गर्नेगरी आज कांग्रेस उदयपुरले उमेदवारको नाम टुंग्याएर सिफारिस गरेको हो । बुधबार क्षेत्रीय समितिहरुले कारबाहीमा परेका व्यक्तिको समेत नाम सिफारिस गरेर जिल्लामा पठाएको भन्दै यो विषयमा क्षेत्रीय समितिलाई स्पष्टीकरण सोध्ने समेत जिल्ला समितिको बैठकले निर्णय गरेको कांग्रेस उदयपुरले जनाएको छ ।