काठमाडौं । अनेरास्ववियुका पूर्वनेता धर्मराज तिमिल्सीना र सञ्जीव धितालेले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई भेटेरै राजीनामा माग गरेका छन् ।
भदौ २३–२४ मा देशभर जेनजी आन्दोलनका नाममा भएको अत्यधिक हिंसा, भीड–उन्माद, आगजनी, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिको विनाश, प्रहरीमाथि संगठित आक्रमण तथा सर्वसाधारणमाथि भएको अत्याचारले नेपालको राष्ट्रिय सुरक्षा, कानुनी शासन र सामाजिक स्थिरतामाथि गम्भीर चुनौती उत्पन्न भएको उनीहरुको भनाइ छ ।
आयोग अध्यक्ष कार्कीलाई बुझाइएको पत्रमा सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा भड्काइएका अभिव्यक्ति, विदेश–सम्बद्ध गतिविधिका संकेत, सहयोग वा उद्धार का नाममा आन्दोलन भडकाउने प्रयत्न, साथै सुरक्षानीयमक निकायको अव्यवस्थित प्रतिक्रिया लगायतले यी घटनाहरू आकस्मिक नभई पूर्वनियोजित रूपमा डिजाइन गरिएको हुनसक्ने ठोस आधारहरू प्रस्तुत छ । पत्रमा बालेन साह, बारबरा फाउन्डेसन, हामी नेपाल, सुदन गुरुङ, रुटिन अफ नेपाल बन्द लगायतका व्यक्ति तथा समूहहरू तथा सामाजिक सञ्जालका केही प्रभावकर्तामाथि आन्दोलनलाई उक्साउने, विभाजनकारी रिल भिडियो फैलाउने, भीडलाई निर्देशन दिने र आतंक पैदा गर्ने गतिविधिमा संलग्न भएको प्रारम्भिक प्रमाण सार्वजनिक भइसकेको उल्लेख छ ।
‘राष्ट्रलाई अशान्त पार्ने होइन, राज्य विघटनकारी गतिविधिमा संलग्न सबै तहका व्यक्तिलाई कानुनी दायरामा ल्याउने निष्पक्ष अनुसन्धान नै अहिलेको परिस्थितिले माग गरेको प्रमुख आवश्यकता हो । पुनश्चः जाँचबुझ आयोगका अध्यक्ष तपाईं गौरीबहादुर कार्की स्वयंले विगतमा सार्वजनिक रूपमा हिंसा उक्साउने, पूर्वाग्रही टिप्पणी गर्ने र संवैधानिक पदाधिकारीको मर्यादा विपरीत अभिव्यक्ति दिने गरेका अभिलेखहरू निकै चर्चित रहेका कारण तपाईंको नेतृत्वमा भदौ २३–२४ का घटनाबारे हुने छानबिन निष्पक्ष, स्वच्छ र विश्वसनीय हुनेमा गम्भीर शङ्का उत्पन्न भएको छ ।’ कार्कीको राजीनामा माग गर्दै उनलाई बुझाइएको पत्रमा भनिएको छ, ‘छानबिन प्रक्रियाप्रतिको जनविश्वास जोगाउन, निष्पक्षताको मानक कायम राख्न तथा आयोगको निर्णय नै भविष्यमा प्रश्नचिह्नमा नपरोस् भन्ने सुनिश्चितताका लागि तपाईंले नैतिक जिम्मेवारी स्वीकार गर्दै तत्काल राजीनामा दिई स्वतन्त्र र निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नु अत्यावश्यक देखिन्छ ।’










प्रतिक्रिया