२१ असार २०८३, आइतबार

जसपा लुम्बिनी प्रदेशको अध्यक्षमा पठान

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–कृष्ण पौडेल

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिको अध्यक्षमा अकरम पठान निर्विरोध चयन भएका छन् । शनिबार कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भेलाले पठानको अध्यक्षतामा ४९ सदस्यीय नयाँ प्रदेश समिति सर्वसम्मत रूपमा गठन गरेको हो । समितिको उपाध्यक्षमा नेत्रबहादुर थापा, मोहम्मद असलम अन्सारी र लालिमा मल्ल चयन भएका छन् । मुख्य सचिवमा विवेक चन्द्र मिश्र, सचिवमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्षमा मोहम्मद कादरीले जिम्मेवारी पाएका छन् ।

सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राईले आगामी चुनावमा सुशासनलाई मुख्य एजेन्डा बनाइने बताए । उनले जसपा, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी एकीकृत रूपमा ‘जातो’ चुनाव चिन्ह लिएर जाने निर्णयलाई संस्थागत गरिएको जानकारी दिए । राईका अनुसार जेनजीको भावना समेटिएको आधुनिक, समावेशी र परिवर्तनमुखी घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको छ।

नवनिर्वाचित अध्यक्ष पठानले युवा पुस्ताले अपेक्षा गरेको सुशासन, पारदर्शिता र जवाफदेहिताको मूल्यबोधलाई आधार बनाएर संगठनलाई नयाँ राजनीतिक दिशामा अघि बढाइने प्रतिवद्धता व्यक्त गरे । उनले सहभागितामूलक निर्णय प्रक्रिया, डिजिटल पारदर्शिता र जनतासँग प्रत्यक्ष संवादमार्फत पार्टीलाई अझ सशक्त बनाइने बताए ।

जसपा लुम्बिनी प्रदेश समितिले प्रदेशभर संगठन सुदृढ गर्दै सेवासुविधाको पहुँच सुधार, सुशासन प्रवर्द्धन, र नागरिक–सहभागी राजनीतिक संस्कृतिलाई मजबुत बनाउने कार्यलाई प्राथमिकतामा राख्ने जनाएको छ ।