सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–५ का वडा सदस्य रामसुवेश राय यादवको निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित रहेका यादवको शनिबार अपरान्ह आफ्नै घरमा निधन भएको पालिकाले जनाएको छ ।
यादव केही समयअघि भारतको दिल्लीमा उपचार गराई घर फर्किएका थिए । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि पुनः भरतपुर चितवनमा उपचार गरिएको थियो । उपचारपछि घर फर्किएका यादवको शनिबार अपरान्ह घरमै निधन भएको हो ।
उनको निधनप्रति शोक व्यक्त गर्दै पालिकाले आइतबार मंसिर २१ गते एक दिन शोक बिदा दिने निर्णय गरेको छ । पालिकाका अनुसार गाउँपालिका तथा अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक), विद्यालय र अन्य संघ–संस्थाहरू बन्द रहनेछ ।
गाउँपालिकाले उनको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।








प्रतिक्रिया