काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबारे अनावश्यक आशंका नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्। उनले ‘चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी सफल पार्ने भन्नेमा ध्यान दिनुपर्छ,’ भन्दै सबै दललाई एकमत भएर अघि बढ्न आह्वान गरिन्।
शुक्रबार राजनीतिक दलहरू, निर्वाचन आयोग र सुरक्षासम्बन्धी निकायका प्रमुखहरूसँग भएको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्री कार्कीले सबै दल एक भएर उभिए निर्वाचनमा कसैले खलल पार्न नसक्ने बताइन्।
उनका अनुसार सुरक्षाको पहिलो कडी समुदाय र जनता हुन्, त्यसपछि मात्र प्रहरी, सशस्त्र र सेना। उनले भदौ २३–२४ को घटनाले राष्ट्रलाई ठूलो मोडमा पुर्याए पनि अब एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन, राजनीतिक दल, आयोग र सुरक्षा निकायसँग निरन्तर संवाद हुँदै आएको बताउँदै निर्वाचन नै अहिले देशको एकमात्र बाटो भएको स्पष्ट पारिन्।
उनले भनिन्, ‘हामी कुनै दलका विरोधी होइनौँ, बलियो सरकार बन्न निर्वाचन आवश्यक छ। सबै १२६ दलले चुनावमा सहभागी हुनुपर्छ।’
बैठकमा अर्थमन्त्री, गृहमन्त्री, कानुनमन्त्री, संचारमन्त्री, प्रमुख सुरक्षा अधिकारी तथा निर्वाचन आयोगका प्रतिनिधि सहभागी थिए।
प्रधानमन्त्रीले नयाँ नेतृत्वप्रति देखिएको शंका हटाउन आग्रह गर्दै अहिलेको वातावरणमा चुनाव नै समाधानको मार्ग भएको दोहोर्याइन्।








प्रतिक्रिया