२५ जेष्ठ २०८३, सोमबार

कुलमानको विकास मोडेल र धरातलीय यथार्थ !

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज पौडेल
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ्गले देश विकासका लागी दुईटा पोइन्टलाई महत्वमा राखेर बारम्बार भाषण गरे । उनको त्यो पोइन्ट नै उनको पार्टीको विकास मोडेल हो । उनको विकास मोडेलको पहिलो बुँदा हो- चुरेको बिशाल ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गरेर भारत निर्यात गर्ने । उनको अर्को मोडेल छ कि- नेपालको वन जंगलबाटै मुलुकलाई चाहिने काठ उपलब्ध गराउने । जसका कारण वार्षीक ४ खर्ब रकम बचत हुने ।

उनको पार्टी गठनबाट मुलुकलाई समृद्ध बनाउन आफ्नो भिजन र विकासको लागि ढुङ्गा बालुवा निर्यात र काठको आयात रोक्ने । देश कै विकासको यो मोडेल कुलमान घिसिङको हो । उनको पार्टीले बहुमत ल्याएको खण्डमा यी दुइवटा योजनाबाटै देश समृद्ध बनाउने । नेपालको बैदेशिक ब्यापार घाटा परिपूर्ति गर्न र देशको उत्पादनलाई निर्यात नगरी नेपाल समृद्ध नहुने कुरा हामी लाटासिधाले पनि बुझ्ने कुरा हो । सिधा देख्दा यो दुई काम साँचो रुपले गर्न पाउने हो भने देशको लागि अरु केही गर्न पर्दैन । त्यस कारण कुलमानले भनेको कुरा साँचो हो । तर वास्तविकता भने अर्कै छ । यो नारा देख्दा सजिलो छ । जनता यो नारामा आकर्षित हुन सक्दछन् । जनताले नै यो काम गरे त भैहाल्यो भनेर कुलमानको चिममा भोट पनि हाल्लान् ! के कुलमानको पार्टीले बहुमतको सरकार बनाएर यी दुईवटा श्रोतबाट मुलुकको विकास गर्न सक्छ त ?

२०७६ सालको जेष्ठ असारका सबै मिडियाका समाचार खोजौँ ! तात्कालीन अर्थमन्त्री डा= युबराज खतिवडाले २०७६/७७ सालको बजेट भाषण मार्फत ७ प्रदेशका एक एक जिल्लाबाट ढुङ्गा बालुवा निकासी गर्ने भन्ने बजेटको एउटा बुदाँमा राखे । उनको नीतिगत बुँदामा एउटा तर्क थियो, देश विकासको लागी जुन देशसँग जुन स्रोत छ त्यही हो निकासी गर्ने, बेच्ने । खाडी मुलुकमा पेट्रोलियमू पदार्थ छ बेचेर डलर कमाएको छ । भारतसँग सिङ्गमरमर छ । उनीहरुले वाताबरण बिग्रन्छ भनेर स्रोत उत्खनन गर्न छोडेका छैनन् । अर्थमन्त्रीको यो बुँदा बजेट भाषणबाट हटाउँन संसदको प्रमुख विपक्षी दल नेपाली काँग्रेस बुरुक्क बुरुक्क उफ्र्यो । संसद सचिवालयमा यो वाताबरण विपरीत पर्यावरण विरोधी बजेट वक्तव्यको बुँदा खारेज गर्न दर्ता गर्यो । दुईतिहाईको सरकारले झिनो मतको प्रमुख प्रतिपक्षको यो बिषय सुन्न सकेन वा चाहेन ।

ओली सरकारले यो बुँदा लाई यथावत राख्दै संसद बैठकबाट बजेट पारित गर्यो। देशका नागरिक समाज, बौद्धिक जमात र आम मिडियाले ओली सरकारको बिरोध गरे । सरकारको यसरी जबरजस्ती देशको खनिज बेच्ने, पर्यावरण बिगार्ने, र तराईमा पानीको मुहान सुकाउने कम्युनिस्ट सरकारको काम हो ? भन्दै चौतर्फी विरोध भयो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र केहि वाताबरणविद्हरुले सर्वोच्चमा मुद्दा हाले । एक महिना नपुग्दै ओली सरकारको बालुवा गिट्टी बेच्ने यो बजेट भाषणको यो बुदाँलाई सर्वोच्च अदालतले खारेज गरेको थियो ।

वातावरण र पर्यावरणको नाममा अरुकै हितमा काम गर्ने वाताबरण बचाउको नाममा जनता उचाल्ने नागरिक समाजकोबीच यो नारालाई कार्यन्वयनमा ल्याउन सकिन्छ ? कुलमानको अर्को योजना नेपाललाई चाहिने फर्निचर र आवश्यक काठ देशबाटै उपलब्ध गराउने । हरियो वन नेपालको धन भन्ने हामीले पढ्ने बेलाको यो भनाई, भनाईमै सिमित भयो । देशमा बार्षिक ४ खर्बको मलेसिया र चीनबाट आउने काठलाई बिस्थापित गर्न देशमा ढलेपडेकै काठ मात्र उपयोग गरे पुग्छ । तर राज्यले यो नीति लागु गर्न सक्ने ल्याकत राख्दैन ।

कार्वन उत्सर्जनमा नेपालको वनले गरेको योगदान भन्दै नेपालको रुख गनेर पाउने अनुदान र विश्व वातावरण बचाउनमा नेपालले ४५ प्रतिशत वन घटाउन नपाउने बाध्यता बीच कुलमानले बनाएको यो नाराले सफलता र सार्थकता पाउन सक्ला र ? जनतालाई एक पटक झुक्याउन जसरी पनि सकिन्छ । हाम्रो जस्तो २०३६ सालदेखि नेपालको आन्तरिक बजेटबाट केबल साधारण खर्चमात्र धान्ने बजेट जम्मा हुन्छ । विकास बजेटको लागि २०६०÷६२ सम्म नेपाललाई सहयोग र अनुदान ९० प्रतिशत दिने विदेशी दातृ निकायहरुले आजभोलि ९० प्रतिशत ऋण लिएमा ५÷१० प्रतिशत मात्र अनुदान र सहयोग दिने नीति बनाएका छन् ।

विदेशी ऋण नलिई विकासको मुख हेर्न नपाउने स्थितिमा जनता जुनसकै पार्टीको सरकार आए पनि हुने चिल्लै हो । अनि भन्ने छन् ‘जुन जोगी आए पनि कानै चिरेका’। कुलमान घिसिङको जस्तो योजना त मसँग पनि छ । के मेरो योजनामा दम छैन ? लास्ट सम्म पढ्ने हिम्मत गर्नु होला । किनकी कुलमानको मोडेलको कार्यान्वयन र मेरो मोडेलको कार्यान्वयन उस्तै उस्तै हो । नेपालको कुनै पार्टीले भन्न नसकेका कुरा मैले पनि भन्न र जनतालाई प्रत्यक्ष देखाउन सक्दछु । म र मेरो पार्टीले चुनाव जितेमा मेरा योजना यस्ता हुने छन् । तर थोरै भएपनि सुद्विबुद्वि भएकाहरुले भने बुझ्नु पर्दछ कि यो मान्छेले गर्न खोजेका यी काम सम्पन्न हुन सक्लान् ? प्रतिबद्धता र योजनाहरु – हरेक नेपालीको १० कोठा सहितको एउटा पक्की घर हुनेछ, प्रत्येकको घरघरमा एक जनालाई एउटा/एउटा कार हुनेछ, विदेशमा गएका नेपालीहरुलाई स्वदेशमै फिर्ता गरेर काम नै नगरी सुखले खान–बस्न, देशमै भएकाले पनि काम गर्न पर्दैन, प्रत्येकका हातहातमा तीन वटासम्म लेटेस्ट भर्सनको मोबाइल फोनको ब्यवस्था गरिने छ । मेरा यी कुरा नपत्याउन सक्नु हुन्छ ? तपाईलाई गफ गर्यो भन्ने लाग्न सक्दछ । तपाईँले जब मैले तल उल्लेख गर्दछु त्यो नपत्याई सुखै छैन ।

बालुवा बाहेक केही श्रोत साधन नभएका मुलुकले त आफ्नो देशलाई साच्चैको सम्पन्न बनाएका छन् भने हाम्रो देशमा के छैन ? सबै किसिमका खनिज शक्ति र बिबिधताले भरिपूर्ण मुलुक नेपाल हो । हाम्रो देशमा भएको त्यस्तो एउटा खनिज छ त्यो उत्खनन गर्न पनि त्यति धेरै लगानी लगाउन पर्दैन । मैले देखेको त्यो खनिजको बजारको पनि कमी छैन । म पार्टी खोलेर मेरो विकास मोडेलकोबारे पत्रकार सम्मेलन गरेर घोषणा गरेँ भने तपाईँले नपत्याई सुखै छैन । मलाई र मैले बनाउन चाहेको पार्टीमा यो सुखको कल्पना गर्दा मलाई भोट नदिई सुखै छैन । अनि तपाई मेरो विरोधी बन्न सक्नुहुन्छ ? मेरो यस्तो मुलुक र नागरिकहरुलाई यति धेरै धनी बनाउने काममा अबरोध गर्न सक्ने ल्याकत राख्नु हुन्न । यदी गर्न दिनु भएन भने मैले भन्ने छु कि मेरा विपक्षीहरुले काम गर्न दिएनन् । मिडिया नागरिक समाज र आम आफन्तहरुबाट पनि सहयोग पाइएन । विदेशीहरूले पनि मेरो काममा हस्तक्षेप गरे ।

हुन पनि जनतालाई लाग्नु पर्ने हो यो काम यो कारणले हुन पाएन ? मेरो विकासको श्रोत के हो ? विदेशमा भएका सबै नेपालीलाई देश मै फर्काएर बसीबसी खान खुवाउन सक्ने के त्यस्तो जादुमय शक्ति छ ? शहर बजारमा लाग्ने प्रदर्शनीहरुमा विभिन्न आइडियल छनौट भएपछि तिनिहरुको नाम घोषणामा उद्घोषकले जसरी दर्शकलाई छट्पटी बनाउँछन् मैले पनि आभाव, अशिक्षा, गरिबीमा बाँचिरहेका आम जनतालाई केही समय मै सम्पन्नशाली बन्न सक्ने योजना घोषणा किन हतारमा गर्नु नि ? मेरो एउटा मात्र रोडम्यापले जुरुक्क देश उठाउने खुरुक्क जनता सम्पन्न हुने भएपछि त्यो मेरो भिजनको मोडेलको घोषणा सुन्न समयको पर्खाई हुनै पर्ने हुन्छ ।

आउनुहोस् हामीसँग भएको त्यस्तो वस्तु छ, जसको एक केजीको मूल्य २० करोड डलर पर्दछ । यसको मात्रा एक करोड टन छ । यसको बजारको लागी भारत, चीन, रसिया, र अमेरिका नै अग्रपङ्तिमा छन् । यसको उत्खनन् गर्न दैलेखमा पेट्रोल ग्यास उत्खननमा लागे झैँ ४ बर्ष लाग्दैन । जमिनबाटै देखिन्छ । नाम हो ‘युरेनियम’। यो मुस्ताङ जिल्लाको उपल्लो भेगमा र मकवानपुरको चुरियामाई क्षेत्रमा विशाल क्षेत्रमा फैलिएको छ ।

हामी यो देखेर थुक चाटेर बस्नु परेको छ । आउनुहोस् मैले र मेरो पार्टीले चुनाव जित्यो भने मेरो वाचा अनुसारको काम गरेर देशलाई जनतालाई समृद्ध पार्ने कुरालाई अब इन्द्रेको बाउ चन्द्रे आए पनि रोक्न सक्दैन । आगामी मंसिर अन्तिम हप्ता मेरो पार्टीको नाम पदाधिकारी र चुनाव चिन्ह घोषणा गर्ने योजना बनाएको छु । पार्टीको नाम ‘नेपाल युरेनियम पार्टी कल्पनावादी’ र चुनाब चिन्ह पनि झलझली जमिनमा बलिरहेको युरेनियमको डल्लो हुनेछ ।

मेरो केन्द्रीय समितिमा अस्ति सिहदरबार जलाउने हिम्मत भएका कलाकारहरु, हिम्मतिला पत्रकारहरु, विगतमा सुन हिरा खोज्न हिँडेका र अन्तर्राष्ट्रिय मार्गबाट सुनको बीलको भन्सार नतिरी सुन जबाहरातको आयातकर्ताहरु, राम्रो नाच्न, मिठो भाषण गर्न जानेका युवा युवतीहरु, जेनजी आन्दोलन भनेर भाग्नेहरु होइन हातमा मसाल बोक्ने साहसिक युबा उमेरका जेनजीहरूलाई समेटेर केन्द्रीय समिति घोषणा हुनेछ ।

मेरो यो योजना देखेर विपक्षीहरू, ठगहरू आत्तिएलान् नि ? कुरा त बुझ्नु भयो नि ?