२२ जेष्ठ २०८३, शुक्रबार

हेटौंडामा सडक विस्तारका लागि बाइपास सडकको तयारी अन्तिम चरणमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । हेटौंडा बजार क्षेत्र हुँदै जाने मुख्य सडकको भीडभार कम गर्न निर्माणाधीन बाइपास सडकको काम तीव्र गतिमा अघि बढेको छ । सडक डिभिजन कार्यालय, हेटौंडाले वैकल्पिक मार्गका रूपमा तयार पारिएको बाइपास खण्डमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको र निर्माण कार्य निरन्तर जारी रहेको जनाएको छ ।

रातोमाटे–बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्म करीब ९.५ किलोमिटर दूरीमा पर्ने मुख्य सडक विस्तार तथा व्यवस्थापन कार्यसँगै बजार भीड घटाउन निर्माण गरिएको बाइपास रोड ३ किलोमिटर लम्बाइको रहेको डिभिजनले जनाएको छ । डिभिजनले अतिक्रमित संरचना हटाउने, सडक चौडाइ रेखांकन गर्ने, आवश्यक ग्राभेल–प्याकिङ, रोलिङ तथा ट्राफिक व्यवस्थापन मिलाउने जस्ता काम अघि बढाइरहेको छ । यस क्षेत्रमा रहेका ५३१ संरचनामध्ये धेरैलाई सूचना दिएर हटाउने प्रक्रिया सुरु गरिएको छ ।

डिभिजनका इञ्जिनियरका अनुसार बजार क्षेत्रमा बढ्दो जाम हटाउन बाइपास मार्गलाई प्राथमिकताका साथ व्यवस्थित गरिँदैछ । प्राविधिक काम सकिएलगत्तै सवारी साधनलाई चरणबद्ध रूपमा बाइपासमार्ग हुँदै सञ्चालन गर्ने तयारी भइरहेको छ । यद्यपि केही स्थानमा स्थानीयवासीले मुआब्जा तथा संरचना हटाउने विषयमा असन्तुष्टि जनाएपछि काम केही अन्तरालमा प्रभावित भएको बताइएको छ । तर, डिभिजनले सबै प्रक्रिया कानुनी तथा प्राविधिक ढंगले अघि बढाइने र प्रभावितलाई सम्भव सहयोग प्रदान गरिने उल्लेख गरेको छ ।

सडक डिभिजन कार्यालयले निर्माण कार्यका कारण अस्थायी रूपमा वैकल्पिक मार्ग प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ । १५ दिने सूचना अवधि सकिएपछि भोलिदेखि सडक विस्तारको काम औपचारिक रूपमा सुरु हुने डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन् । अधिकारीका अनुसार हेटौंडा बजार क्षेत्रभित्र चल्ने साना सवारी, अटो, मयुरी रिक्सालगायतका साधनलाई पनि बाइपासमार्गतर्फ मोडिने तयारी गरिएको छ, जसले बजारभित्रको भीडभार उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ ।