
मकवानपुर, ६ मंसिर । नेपाली कांग्रेस मकवानपुरले पार्टीको विधानअनुसार महाधिवेशन निर्धारित समयमा नै सम्पन्न गर्न माग गरेको छ । शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला नेतृत्वले पार्टी केन्द्रीय समितिसमक्ष मंसिरभित्र महाधिवेशन गर्न आवश्यक तयारी तत्काल अघि बढाउन आग्रह गरेको हो ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीको आन्तरिक लोकतान्त्रिक परम्परा जोगाउन, नेतृत्वको स्वाभाविक हस्तान्तरण सुनिश्चित गर्न र संगठनलाई व्यवस्थित रूपमा अगाडि बढाउन महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्नु आवश्यक रहेको बताए । उनले महाधिवेशन ढिलाइ भए पार्टी संरचना मात्र कमजोर नहुने, कार्यकर्तामा निराशा बढ्ने र नयाँ पुस्ताले संगठनप्रति देखाएको विश्वासमा असर पर्ने भएकाले अब ढिलाइको स्थान नरहेको स्पष्ट पारे । पार्टीलाई आधुनिक, जिम्मेवार र जनअपेक्षाअनुसार सञ्चालन गर्न संगठनात्मक स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘नयाँ पुस्तालाई आत्मविश्वासका साथ नेपाल कांग्रेस हस्तान्तरण गर्ने हाम्रो लक्ष्य हो । त्यसका लागि महाधिवेशन अविलम्ब हुनु अनिवार्य छ ।’
लामाले विधानले तोकेको प्रक्रियाअनुसार सबै तहका संरचनालाई सक्रिय गर्दै महाधिवेशनको तयारी सुरु गर्नुपर्ने धारणा राखे । उनका अनुसार संगठन सुदृढीकरण, नेतृत्व विकास र पार्टीभित्रको पारदर्शी निर्णय प्रक्रियाको सुनिश्चितताका लागि महाधिवेशन नै मुख्य आधार हो । उनले जिल्ला, प्रदेश र केन्द्रबीच समन्वय बलियो बनाउँदै कार्यकर्ताको मनोबल उच्च राख्न समयमै हुने महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।








प्रतिक्रिया