२७ जेष्ठ २०८३, बुधबार

जेनजी आन्दोलनपछि मुलुकको स्थिति निक्कै जटिल बन्यो : शंकर पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यतिबेला मुलुकको स्थिति निक्कै जटिल भएको बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भदौ २३, २४ गतको घटनाले देशको अवस्था निक्कै जटिल बनेको बताएका हुन् ।

‘यतिबेला राष्ट्रिय राजनीति अत्यन्त अस्थिर, असामान्य र तरल अवस्थामा रहेको छ, खास गरी भदौ २३, २४ गतेको घटनाले नेपाल राष्ट्रको जीवनमा असाधारण क्षति पुर्‍याएको छ, नेपाल राष्ट्रको मनोविज्ञानलाई नै त्यसले नकारात्मक असर पार्ने खालको काम भएको छ’, उनले भने ।

नेपालका प्रमुख राजनीतिक दलहरू आन्दोलनकारीको माग समेत सम्बोधन गर्ने गरी अत्यन्त जिम्मेवारीका साथ मुलुकलाई सामान्य अवस्थामा फर्काउन संविधान र प्रतिनिधि सभाभित्रबाट नै समस्या समाधान गर्न सकिन्छ भन्नेमा रहेका भए पनि अवस्था फरक बनेको उनको भनाइ छ । प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक व्यवस्था वितरित प्रतिनिधि समा विगठन गर्ने काम गरेको पोखरेलको भनाइ छ ।

जेनजीको नाममा पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउनको लागि युवाहरूलाई नियोजित मनोविज्ञान तयार गरी आफ्नो स्वार्थका लागि प्रयोग गर्ने काम गरेको महासचिव पोखरेलले बताएका छन् । जसको परिणाम देश असामान्य अवस्थामा प्रवेश गरेको उनको भनाइ छ ।

जेनजीका माग असामान्य र नाजायज नभएका बताउँदै उनले त्यो सरकारले पुरा गर्न सक्ने माग भएका पोखरेलको धारणा छ । तर उनीहरूका माग सरकार समक्ष नै नपुगेका र आन्दोलन कसले परिचालन गरेको छ भन्ने कुरा समेत सरकारले थाहा पाउन नसकेको पोखरेलले टिप्पणी गरे । माग पूरा गर्ने भन्दा पनि परिस्थितिलाई आफ्नो अनुकूल प्रयोग गर्न त्यो काम गरिएको थियो भन्ने कुरा पछिल्लो तथ्यले पुष्टि गरिसकेको छ’, उनले भने ।

नेपाली युवामा रहेको मोबाइलमा भएको आशक्ति र लत बुझ्न नसक्दा अहिलेको स्थिति आएको उनले स्वीकार गरे । यद्यपि सरकारले सूचना प्रविधिलाई व्यवस्थित गर्न सरकारले गरेको प्रयास सही भएको उनले दाबी गरेका छन् । ‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने लत भएका युवालाई गलत तत्त्वले भड्काउन सफल भए’, पोखरेलले भने ।

सरकार युवा र प्रविधिमैत्री भए पनि त्यसलाई युवाले बुझ्न नसकेका पोखरेलको भनाइ छ । सूचना प्रविधिलाई जोडेर युवालाई गलत बाटोमा लैजाने कुरा निक्कै घातक भएको उनले बताए । सूचना र प्रविधि मार्फत युवालाई लागुऔषधको दुर्व्यसन समेत पुर्‍याउने गरिएको बताउँदै यसबाट युवालाई बाहिर निकाल्न सक्नु पर्ने पोखरेलको धारणा छ ।

जेनजी युवाले राज्य ध्वस्त बनाउँछन् भन्ने कुराको कल्पना गर्न नसकिने उनको भनाइ छ । ‘जसले त्यो काम गरे उनीहरू राष्ट्रका अपराधी हुन् भन्ने बुझ्नु पर्दछ, तिनीहरूको पहिचान गरी कारबाही गर्नुपर्दछ’, उनले भने ।

सरकारले जेनजी आन्दोलन र आन्दोलनको नाममा भएको अपराधलाई एकै ठाउँमा राखेर हेरेको भन्दै उनले आलोचन गरे । ‘अहिलेको सरकार अपराध र आन्दोलनलाई छुट्याउने कुरामा पूर्णतः असफल छ, आन्दोलनलाई सम्बोधन गर्न सकिन्छ तर अपराधलाई दण्डित गर्नुपर्दछ, आन्दोलन र अपराधलाई छासमिस गर्नुपर्ने कुरा उपयुक्त होइन, त्यसैले यसको निष्पक्ष छानबिन हुनु पर्दछ’ पोखरेलले भने ।

अहिले गठन भएको छानबिन आयोगको अध्यक्ष आफै २३ र २४ को घटनाको मतियार भएकाले उनीबाट निष्पक्ष प्रतिवेदन नआउने उनले बताए । अहिलेका अध्यक्षले राजीनामा दिनु पर्नेमा नदिएपछि सरकारले नै उहाँलाई हटाउनु पर्ने पोखरेलको धारणा छ । यस पटकको आन्दोलनको नाममा सबैभन्दा पहिलो निशाना नेपाल प्रहरीलाई बनाएको पोखरेलले बताए ।