काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महिला खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको निर्वाचन परिणाम तत्काल औपचारिक रूपमा सार्वजनिक नगरिने भएको छ।
महिला खुला समूहबाट पर्याप्त मत प्राप्त गरेर निर्वाचित भए पनि खड्काको नाममा प्रमाणपत्र जारी नगरी निर्वाचन समितिले उनको परिणामलाई ‘होल्ड’ मा राखेको हो।
इजरायलमा केयर गिभरका रूपमा पठाइदिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा खड्का पक्राउ परेकी थिइन्। उक्त प्रकरणसम्बन्धी मुद्दा अहिले अदालतमा विचाराधीन रहेकाले कानुनी अवस्थाको टुंगो नलागेसम्म उनलाई निर्वाचित भएको औपचारिक प्रमाणपत्र नदिने निर्णय भएको निर्वाचन समितिको भनाइ छ।
महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहे पनि खड्काको परिणाम रोकिएपछि समितिले हाल १४ जनाको मात्र निर्वाचन परिणाम घोषणा गरेको छ। मतगणनामा खड्काले २ हजार ८ सय ६६ मत प्राप्त गरेकी थिइन्। उनी महिला खुलातर्फ सातौँ स्थानमा रहेकी थिइन्।
निर्वाचन समितिका एक सदस्यका अनुसार खड्काको कानुनी अवस्थाबारे अन्तिम निर्णय नभएसम्म परिणाम यथास्थितिमै राख्न पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आग्रह गरेका थिए। सोही आधारमा उनको नाममा तत्काल विजयको प्रमाणपत्र जारी नगरिएको हो।
खड्कामाथि लागेको अभियोगबाट अदालतले सफाइ दिएपछि मात्र उनको निर्वाचन परिणामबारे थप निर्णय हुने समितिका ती सदस्यको भनाइ छ।
महिला खुलातर्फ भने वासना थापा, उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धना कुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), रिता थापा मगर, कान्तिका सेजुवाल, उमा दाहाल र निर्मला तामाङ बस्नेत निर्वाचित भएका छन्।
निर्वाचन समितिले यी १४ जना निर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्रसमेत प्रदान गरिसकेको छ।













प्रतिक्रिया