२१ असार २०८३, आइतबार

खडेरीले धान उत्पादन नभएपछि मुगुका किसानले खेतमै लगाए आगो

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १४ कात्तिक । मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाँउपालिका वडा नम्बर १० का कृषकले लगाएको धानमा बाला नलागेपछि खेतमै आगो लगाएका छन् ।

खडेरी परेर धान उत्पादन नभएपछि कृषक आक्रोशित बनेका हुन् । गत जेठ–असारमा खत्याड गाँउपालिका वडा नम्बर १० ह्रायाङ्खु गाँउका कृषकले लगाएको धानमा फल नलागेपछि कृषक चिन्तित बनेका हुन् । यस क्षेत्रका एक सय २५ घर परिवारले धान लगाएको खेतमा आगो लगाएका हुन् ।

हयाङ्खु बासीहरुको मुख्य खाद्यान्न बाली धान हो । भुवा अर्थात पाखे खेत गर्ने जमिन निकै कम भएको हुँदा वर्षभरी धान खेतीमार्फत जीवन निर्वाह गर्दै आएका कृषक खडेरीको मारमा परेका हुन् ।

खत्याड गाउँपालिका १० का ६५ वर्षीय कृषक धनलाल रोकायाका अनुसार धान रोप्ने समयमा आकाशबाट पानी परेन, खडेरी पर्‍यो अनि अनि बाला लागेन । ‘धानबालीमा फल छैन्, सिंचाइको कुलो बाढीले बगायो त्यसैले यसवर्ष भोकमरी होला जस्तो छ । भारत जाने अवस्था छैन, अब परिवारको विचल्ली हुने भयो । यस्तो अवस्थामा तीन तहको सरकारबाट राहत पाउने आशामा छौँ,’ उनले भने ।

अर्का कृषक चन्दबहादुर रोकाया अर्को वर्ष धानको बिउकै अभाव हुने दुखेसो पोख्छन् ।

पालिका अध्यक्ष अजबहादुर शाहीका अनुसार समयमा आकाशे पानी नपर्दा धान बालीमा खडेरी भएको हो । यस्तो अवस्थामा स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट राहतका लागि पहल गर्ने उनले बताए ।