
सर्लाही, २५ असोज । हालै आएको बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि सर्लाहीको धनकौल गाउँपालिकामा राहत सामग्री वितरण गरिएको छ ।
शुक्रबार धनकौल गाउँपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरी बाढी प्रभावितलाई राहत वितरण गरिएको हो । कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्वन केन्द्र (आरआरपिके)को सहकार्यमा सम्पन्न भएको हो ।
बाढीबाट विस्थापित तथा क्षतिग्रस्त २८० घर परिवारहरूलाई गैर खाद्य सामग्री वितरण गरिएको हो । यसका साथै, जुन बाढी पीडितको घरमा दुई महिना भन्दा साना शिशु, सुत्केरी महिला छन् त्यहाँ ‘डिग्निटि किट’ राहत वितरण गरिएको छ ।
बाढी प्रभावितलाई गैर खाद्य सामग्रीमा त्रिपाल, डोरी, कम्बल, सुत्ने म्याट, पी–फम, सौर्य बत्ति, लामखुट्टे झुल वितरण गरिएको थियो भने ‘डिग्निटि किट’मा नुहाउने साबुनदेखि विभिन्न कपडा लगायतका सामग्रीहरु थिए । राहतले प्रभावित परिवारहरूलाई तत्कालका आवश्यकता पूरा गर्न सहयोग पुर्याएको स्थानीयहरूले बताएका छन् ।
गाउँपालिकाले राहत वितरणपछि बाढीपीडित क्षेत्रका घर पुनःस्थापना, सडक र सरसफाइ सुधारका कामलाई प्राथमिकता दिने जनाएको छ । साथै, दीर्घकालीन पुनर्निर्माण योजना तयार पार्दै विद्यालय, स्वास्थ्य चौकी र खानेपानीका संरचना मर्मत गर्ने तयारी समेत गरिएको गाउँपालिकाले जनाएको छ ।







प्रतिक्रिया