१४ असार २०८३, आइतबार

काठमाडौंका बाढी प्रभावित क्षेत्रमा सफाइ कार्य जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारणले प्रभावित बल्खु, टेकु, विष्णुमती कोरिडोर लगायतका क्षेत्रमा आज (आइतबार) दिनभर ठूलो मात्रामा सफाइ र हिलो व्यवस्थापनको काम भइरहेको छ ।

नगर प्रहरी बलका नायब उपरीक्षक मीनबहादुर थापाका अनुसार आज बिहानैदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका सय जना कामदार, तीन वटा जेसीभी, तीन वटा जेट मेसिन र डम्पर प्रयोग गरी प्रभावित क्षेत्रमा हिलो सोहोर्ने, ढुङ्गा–ग्राभेल हटाउने र सडक सफा गर्ने कार्य भइरहेको छ ।

बल्खु तरकारी बजार, साझा पेट्रोल पम्प अगाडिको लाइन, टेकु दोभान, बङ्सीघाट, च्यासल, संखमुल, नरेफाटको लालीगुराँस चोक तथा विष्णुमती कोरिडोर क्षेत्रमा विशेष रूपमा काम भइरहेको छ । तर बङ्सीघाट र टेकु दोभान क्षेत्रमा अत्यधिक गिलो हिलोका कारण मेसिनले समेत काम गर्न नसक्दा आजको काम अधुरो रहेको थापाले बताए ।

‘हिलो पूरै पानी–पानी भएको छ । साबेलले निकाल्न, मेसिनले समेत सोहोर्न नसक्ने अवस्था रहेको छ । त्यसैले आज केही ठाउँमा काम सहज रूपमा गर्न सकिएको छैन् । घाम लागेमा भोलिदेखि फेरि सफाइ सहज हुनेछ,’ थापाले भने ।

नगर प्रहरी बलका टोलीहरू प्रभावित बस्तीमा पनि खटिएका छन् । बङ्सीघाट र टेकु दोभानका बस्तीमा हिलो घरभित्र पसेको र स्थानीयवासीले पनि सफाइ कार्यमा सहयोग गरिरहेको थापाले बताए ।

थापाका अनुसार बल्खु फलफूल बजार क्षेत्रको सडक अझै पनि अत्यन्त गिलो छ, जसलाई अहिले अस्थायी रूपमा हिलो थुपारेर बाटो खुलाइएको छ । थापाले भने, ‘हामीले तत्काल सम्भव हुने ठाउँमा हिलो व्यवस्थापन गरेका छौँ । तर, अझै उठाउनै नसकिने अवस्था छ । घाम लागेपछि सफाइ सहज हुनेछ र प्रभावित क्षेत्र सफा गर्न सकिनेछ ।’