
काठमाडौं, ९ असोज । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको बताएका छन् । दिवंगत ¥यापर यमबुद्धको स्मृतिमा उक्त पार्क बनाइँदै छ ।
“तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदै छ । मेयर बनेको सुरुदेखि नै हाम्रो पहिलो लक्ष्य काठमाडौंलाई सबैको लागि सहर बनाउनु थियो,” बिहीबार (असोज ९) सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहनाअनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ ।”
उक्त पार्क खेल्ने ठाउँ मात्र नभई युवाको संस्कृतिलाई अभिव्यक्त गर्ने, कला–संगीतको प्रोत्साहन र परिवारमैत्री सामुदायिक ‘स्पेस’का रूपमा निर्माण भइरहेको बालेनको भनाइ छ ।
बालेन मेयरमा निर्वाचित भएको केही महिनामै यमबुद्ध पार्क बनाउने निर्णय गरेका थिए । त्यति बेला यो विषयमा विवाद उत्पन्न भएको थियो ।
“सुरुमै बजेट छुट्ट्याइएको थियो । काठमाडौं महानगर वार्ड १६ मा बन्ने कुरा लगभग तय भइसकेको थियो । तर, तत्कालीन वडाध्यक्ष स्व. मुकुन्द रिजालको निधनपछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौँ । त्यसपछि अर्को दुई वडामा कोसिस ग¥यौँ । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीनपटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन । तर, काठमाडौं–५ का वडाध्यक्षज्यू वीरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्नुभएको रहेछ । सोही जग्गामा उहाँहरूको अग्रसरतामा सोही अन्ततः २०८१–२–२९ गतेदेखि काम अघि बढ्न थाल्यो । अहिले यो पार्कको निर्माण फेजमा छ । करिब आधा काम पूरा भइसकेको छ,” बालेनले लेखेका छन् ।









प्रतिक्रिया