२३ असार २०८३, मंगलबार

रास्वपाको वेबसाइट ह्याक, लामिछानेलाई लक्षित गर्दै लेखियोः हामी न क्षमा दिन्छौँ, न बिर्सन्छौँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । आफूलाई ‘जेनजी राइजिङ नेपाल’ बताउने एक ह्याकर समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ह्याक गरेको छ । ह्याकर समूहले पार्टीको वेबसाइटको ‘प्रेस विज्ञप्ति’ सेक्सनमा एसक्यूएल इन्जेक्सन (SQL Injection)  आक्रमण गरी नियन्त्रणमा लिएर आफ्नो सन्देश राखेको हो ।

जेनजी विद्रोहका क्रममा रास्वपाले हिरासतमा रहेका आफ्ना सभापतिलाई निकालेकाले त्यसको बदला लिन वेबसाइट नियन्त्रणमा लिइएको ह्याकरको दाबी छ । उक्त समूहले वेबसाइटमा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै एक मेसेज छाडेको छ । जसमा ‘न क्षमा दिने, न बिर्सने’ उल्लेख छ ।

 

सन्देशमा रास्वपालाई ‘पुरानै युगलाई भविष्य ठान्ने राजनीतिक तमासा’ भन्दै आलोचना गरिएको छ । पार्टीको मुख्य काम ‘आफ्नो नेतालाई जेल पर्नबाट जोगाउनु’ रहेको आरोप लगाइएको छ ।

सन्देशमा गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै भनिएको छ, “रवि लामिछाने दोहोरो नागरिकता भएका उही व्यक्ति जो हालै जेन जी को विरोध प्रदर्शनको सहारामा कानुनी कारबाहीबाट उम्किए ।”

ह्याकरले लामिछानेमाथि ‘शङ्कास्पद आर्थिक लेनदेन’ लुकाउन पार्टीको ऊर्जा खर्च भइरहेको आरोप समेत लगाएको छ । “हे नेपाल, भेट ‘नयाँ राजनीति’ लाई ञ् जहाँ प्रपञ्च उही पुरानो छ, बस आवरण चम्किलो छ,” सन्देशमा थप लेखिएको छ, “जेनजीले यो सब देखिरहेको छ । हामी न क्षमा दिन्छौँ, न बिर्सन्छौँ । हाम्रो आगमनको अपेक्षा गर ।”

ह्याकर समूहले भ्रष्टाचार न्यूनीकरणका लागि सहयोग गर्न आग्रह गर्दै वेबसाइटमा यूएसडीटी, बीटीसी र इथेरियम जस्ता क्रिप्टोकरेन्सीको एड्रेस समेत राखेको छ ।