
–अन्जनी कुमार अधिकारी
उदयपुर, १ असोज । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा उदयपुरको चौदण्डीगढी नगरपालिकाको एउटा गाडी जलेर नष्ट भएको पुष्टि भएको छ ।
जेनजी आन्दोलनकारीले गत भदौ २४ गते देशभर गरेको तोडफोड र आगजनीमा आफूले प्रयोग गर्दै आएको स १ झ ५३० नम्बर गाडी (स्कार्पियो) सिंहदरबार परिसर भित्र जलेर नष्ट भएको चौदण्डीगढीका मेयर कालुमान लामाले बताए ।
लामाले आफू एमालेको विधान महाधिवेशनको लागि भदौ १७ गते राजविराज हुँदै काठमाडौंसम्म प्लेनमा गएको भएपनि आफू चढ्ने गाडी अर्थ मन्त्रालयले उपलब्ध गराएको अर्को पिकअप ल्याउन भदौ १८ गते अर्को ड्राइभर लिएर काठमाडौं आएको बताए ।
अर्थ मन्त्रालयले उपलब्ध गराएको पिकअपको सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर पिकअप गाडी पालिका पठाएको र आफू भने संघीय मन्त्रालयमै केही काम भएकाले बसेकाले आफूले प्रयोग गर्ने स्कार्पियो काठमाडौंमा राखेको मेयर लामाले बताए ।
मेयर लामाका अनुसार भदौ २४ गते आफू गाडी लिएर सिंहदरबार पुगेको र सोही समयमा जेनजी आन्दोलनकारीले सिंहदरबार घेराउ गरेको खबर पाएपछि आफूले गाडीलाई सुरक्षित स्थान खोजेर राख्ने प्रयास अनुसार ‘सामान्य प्रशासन मन्त्रालयको पार्किङमा’ गाडी राखेर बाहिर निक्लेको तर आन्दोलनकारीले त्यस क्षेत्रका सबै गाडी आगो लगाउने क्रममा आफू चढ्ने गरेको गाडी जलेर नष्ट भएको लामाले बताए ।
यता स्थानीयले भने मेयर लामाले प्रयोग गर्ने गाडी नगरपालिकाका योजना आयोगका उपाध्यक्ष किशोर ताम्रकारलाई लिएर एमालेको दोस्रो विधान महाधिवेशनको लागि काठमाडौं गएको भन्दै यसको सत्यतथ्य आमजनताले चित्त बुझाउने जवाफ नगरपालिकाले सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
क्षति भएको गाडीको इन्स्योरेन्स क्लेमका लागि आवश्यक कागजपत्रहरू मिलाउने काम सम्पन्न गरिएको मेयर लामाले जानकारी दिए ।








प्रतिक्रिया