३० जेष्ठ २०८३, शनिबार

दैलेखबाट ८ करोड रुपैयाँ बराबरको ’भेप’ बरामद

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दैलेख, १० भदौ । ‘सेतक चिनी’ नामको जडीबुटीको नाममा हुम्लाबाट बर्दिया हुदै नेपालगञ्ज लैजान लागेको झन्डै ८ करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) दैलेखको सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।

जिल्ला वन कार्यालय हुम्लाले ‘सेतक चिनी’ नामको जडीबुटी भनी टाँचासमेत लगाई नेपालगञ्ज लैजान अनुमति दिएको ना अ प आ ८३ नम्बरको ट्रक विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीको टोलीले दैलेखको आठबीस नगरपालिका–६ खिड्कीजिउलाबाट नियन्त्रणमा लिएको थियो ।

ट्रकमा रहेको ३९ हजार ९० थान ’भेप’, २ हजार ४०० केजी ‘सेतक चिनी’, ट्रक र ट्रक चालकसहित ३ जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको छ ।

पक्राउ पर्नेहरूमा हुम्लाको सिमीकोट गाउँपालिका–३ का २७ वर्षीय छिरिङ्ग लामा, मुगुको खत्याड गाउँपालिका–५ का ३२ वर्षीय जनक रोकाय र २७ वर्षीय ट्रक चालक भूमि रोकाय रहेका प्रहरीले जनाएको छ ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख उमेशराज रिमालले जिल्ला वन कार्यालय हुम्लाले ‘सेतक चिनी’ नामको जडीबुटी भनेर ट्रक सिलबन्दी गरेको तर कुनै बिलबिजक तथा कागजपत्र नभएको जानकारी दिए ।

रसुवा र मुस्ताङबाट बेलाबेला भित्रिने गरेको ’भेप’ कर्णाली क्षेत्रबाट भित्र्याउन लागिएको अवस्थामा फेला पारिएको पहिलो पटक हो । चीनको व्यापारिक नाका हुँदै भित्रिने गरेको ’भेप’ नेपालका शहर र भारतमा पुग्ने गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो वर्ष मलेशियाबाट १ सय १९ केजी भेप भित्रिएको देखिन्छ । अघिल्लो वर्ष चीनबाट १ सय ९९ केजी र मलेशियाबाट ८२ केजी भेप नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । नेपालमा अवैध मानिएको ’भेप’ एकै पटक यति ठूलो मात्रामा फेला पारिएको पहिलो पटक हो ।

नेपालमा अवैद्य मानिएको ‘भेप’
सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१ को दफा २८ मा यस्ता ’भेप’ समेतलाई बिक्री/वितरणमा प्रतिबन्ध लगाउने व्यवस्था छ । यस दफाको उपदफा ३ मा कसैले पनि विद्युतीय चुरोट (भेप) उत्पादन, आयात, बिक्री÷वितरण, सार्वजनिक गाडीमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन गर्न नपाइने व्यवस्था गरेको छ ।