
काठमाडौँ, ९ भदौ । यस वर्षको यँयाः अर्थात इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुवाहरू वन प्रस्थान गरेका छन । प्रत्येक वर्ष झैँ यस वर्ष आज(सोमवार)का दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरेका हुन् ।
पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार आज बिहान ठीक ९ः४६ को साइतमा हनुमानढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन् । आज वन प्रस्थानका लागि संघको अगुवाईमा गएका प्रतिनिधिहरूले आजै राति यस वर्षको यँया (इन्द्रजात्रा)का लागि यःसिं काट्ने अर्थात् वृक्ष कर्तन गरिने छ ।
यस वर्षको इन्द्रजात्राको लागि समिति दिएको साइतअनुसार आज राति ९ः०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरिनेछ । यसभन्दा अघि यःसिंको लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पुजा गरिनेछ ।
त्यसपछि सुनको बञ्चरो, चाँदीको बञ्चरोले सांकेतिक रुपमा घाउ गरेपछि रुख काट्न शुरु गरिनेछ । आज राति साइत मात्र गरेपछि भोलि विहानैदेखि यःसिंको लागि छनोट गरिएको रुख काट्न शुरु गरिन्छ भने भोलि नै उक्त यःसिं भक्तपुरको चित्तपोलदेखि तानेर ल्याइन्छ ।
सकेसम्म भोलि बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौँको भोटाहिटीमा राखिनेछ । यसरी भोटाहिटीमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि)को दिन बिहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ ।
भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडि राखिनेछ ।
त्यसपछि भदौ १९ गते बिहीवार बिहान १०ः३१ को शुभ साइतका यःसिं उठाइने इन्द्रध्वजोत्थान गरिनेछ । यःसिं उठाएपछि काठमाडौँको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिकरुपमा सुरु भएको मानिन्छ ।









प्रतिक्रिया