
वीरगञ्ज, ८ भदौ । गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रुपमा अगाडि बढाइएको छ ।
हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको र टोलीले अहिले तीव्र रुपमा पानी परिक्षणको कार्य अगाडि बढाएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।
उनले भने, “आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा मसहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेका छौँ । प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ ।”

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजारोगको सङ्क्रमण देखिएको र केहीको मृत्यु समेत भएपछि अहिले मन्त्री यादवसहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक लगायतको टिम हैजा प्रभावित क्षेत्रमा खटिएको छ ।
हैजा रोगको सङ्क्रमण भेटिएको क्षेत्रमा त्यहाँको खानेपानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली तत्कालै खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, “हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै भ्यानसहितको मोबाइल टोली खटाएका छौँ । पानी परीक्षण र शद्धीकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदैछ ।”
वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको थियो । हैजा रोगकै लक्षण देखिएका तर हैजा पुष्टि नभएका दुई जनाको शनिबार मृत्यु भएको जनाइएको छ ।








प्रतिक्रिया