संखुवासभा, ३ भदौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले राष्ट्रिय गौरवको पद राष्ट्रपति भैसकेको मान्छे पार्टीको सदस्य भएर काम गर्न नमिल्ने बताएका छन् ।
राजनीति बाहेक सामाजिक सेवाको क्षेत्रमा लाग्न गनुरोध गर्दै उनले विद्यादेवी भण्डारीले आफ्नो गर्भिलो हैसियत नबिर्सन अनुरोध गरे । भण्डारीको पार्टी सदस्यताबारे अन्तरपार्टी निर्देशनमै उल्लेख भएकाले यसबारे धेरै चर्चा गर्नु आवश्यक नरहेको उनले स्पष्ट पारेका छन् ।
एमाले संखुवासभा जिल्ला कमिटीको छैंटौ पूर्ण बैठकमा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै गौतमले आसन्न विधान महाधिवेशनको सन्दर्भमा महत्वपूर्ण सुझावहरु दिन पनि आग्रह गरेका छन् । एमालेको यही भदौ २० गतेबाट सुरु हुने विधान महाधिवशनमा सङ्खुवासभाबाट १४ जना प्रतिनिधि सहभागी हुनेछन् ।
बैठकमा उपस्थीत केन्द्रीय सदस्य तुलसी प्रसाद न्यौपानेले अन्तरपार्टी निर्देशनको महत्व र दशौं राष्ट्रिय महाधिबेशनको उपलब्धीबारे प्रष्ट पारे । बैठकमा आफ्नो भनाई राख्दै कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टी सदस्यता नवीकरण र बिस्तारलाई जोडदिन आग्रह गरेका छन् ।
जिल्ला, पालिका र वडास्तरसम्म नवीकरणलाई ब्यापकता दिनु पर्नेमा जोड दिए । बैठकमा जिल्ला अध्यक्ष खड्ग बहादुर राईले १ करोड ७ लाख २७ हजार ५ सयको आर्थिक प्रतिवेदन र वार्षिक कार्ययोजना प्रस्तुत गरे । मंगलबार सम्पन्न जिल्ला कमिटीको छैटौं पूर्ण बैठकमा प्रस्तुत भवन निर्माण सहितको कार्ययोजना सर्वसम्मतले पारित गरेको हो । कार्ययोजनमा २०८३ को असार भित्रमा करिब १ करोडको लागतमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
भवन निर्माणका लागि पार्टी सदस्यहरुबाट सहयोग संकलन अभियान र देउसीभैलो समेत खेल्ने तयारी रहेको प्रचार बिभाग प्रमुख नविन दाहालले बताए । बैठकमा केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको उपस्थीती रहेको थियो ।

















प्रतिक्रिया