
सुर्खेत, २१ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समूचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजन सम्मको प्रक्रियामा अझै थप सुधार आवश्यक रहेको बताएका छन् ।
मंगलबार सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशसभाका माननीय सदस्यज्यूहरुसँग कर्णाली प्रदेशको आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१’ र ‘कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१’को प्रारम्भिक मस्यौदामाथि छलफल कार्यक्रममालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विगतको अभ्यासबाट पाठ सिक्दै आगामी वर्षको बजेट निर्माणमा थप सुधार गर्नु पर्नेमा जोड दिए । विकास र निर्माणमा गर्ने आ–आफ्नो बजेट भए पनि सबै तहका सरकार र निकायबीच सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो ।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकार, स्थानीय सरकार र सङ्घ सरकारबीचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका सचेतक हिक्मत विष्टले जिल्लाबाट आयोजना सिफारिस गर्दा गहिरो अध्ययन नभएको कारण बजेट निर्माण जटिल भएको भन्दै अब सङ्कलनमुखी होइन, आवश्यकता र प्रभाव आधारित आयोजना छनोट गरिनुपर्नेमा जोड दिए ।
नेकपा (एमाले)का सचेतक टेकराज पछाईले कार्यविधिको निर्माणले कर्णालीमा सुशासनको सकारात्मक संकेत दिएको बताउँदै विगतमा भएका कमजोरीलाई सुधार गर्दै परिणाममुखी योजना कार्यान्वयनको कार्यविधिले आधार तयार गरिएको उल्लेख गरे ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)की प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले प्रस्तुत कार्यविधि र मापदण्डप्रति सन्तोष व्यक्त गर्दै यसलाई अझ सरल बनाउन गर्न सुझाव दिइन् । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले छलफलमा उठेका सुझावहरूको अध्ययन गरी कार्यविधि र मापदण्डमा आवश्यक संशोधन गरिने जानकारी दिएका थिए ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ्ग, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, कर्णीली प्रदेश सभा सदस्यहरु, गाउँपालिका महासंघ र नगरपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया