२८ असार २०८३, आइतबार

विधान संशोधनको सुझाव माग्न गाउँ पस्दै एमाले कर्णाली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २० साउन । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको छैटौं बैठक सोमबार सम्पन्न भएको छ । बैंठकले एमालेको अन्तर पार्टी निर्देशन–१२ अनुसार दृढताका साथ अघि बढ्ने निर्णय गरेको पार्टी प्रचारप्रसार विभाग प्रमुख रमेशबहादुर शाहीले जानकारी दिए ।

एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैठकले पारित गरेका निर्णयहरु सार्वजनिक गर्दै प्रमुख शाहीले पार्टीको नवौं बैठकले पारित गरेको निर्णय मातहतका सबै कमिटीमा लागू गर्ने निर्णय भएको जानकारी दिए ।

‘बैठकमा पार्टी केन्द्रिय कमिटीको को ९औं बैठकबाट निर्णय भएको अपानी–१२ को जानकारी गराउने काम भयो । अपानीमा उल्लेखित निर्णहरु प्रदेश कमिटी, मातहत जिल्ला कमिटी र स्थानीय तहका कमिटीहरुले लागू गर्ने निर्णय सर्वसम्मतिले पारित भयो । बैठकमा विधान संशोधनसम्बन्धी मस्यौदाको अध्यन र छलफल भयो ।’ उनले भने, ‘छलफलमा सहभागि कमरेडहरुले सुझाव पेश गर्ने काम भयो साथै २०८२ साउन मसान्तसम्म १० वटै जिल्लाले बैठकहरु सम्पन्न गरी आधारभुत तहका कमिटीहरुमा मस्यौदामाथि छलफल गराई उपलब्ध भएका सुझावहरु भाद्र ५ गते भित्र प्रदेश कार्यालयमा उपलब्ध गराउने र प्रदेश कार्यालयबाट २०८२ भाद्र १० गते भित्र केन्द्रीय कार्यालयमा पठाउने निर्णय भयो ।’

यस्तै, पार्टी अध्यक्ष गुलावजंग शाहले डोल्पा जिल्लाका दुई वटा पालिका र प्रदेशका विभिन्न ४८ वटा वडा अधिवेशन गर्ने निर्णय गरिएको बताए ।


‘अधिवेशन हुन बाँकी रहेका पालिका वडाहरु कात्तिक भित्र र अवधि पुगेका जनसंगठनहरुको अधिधेशन २०८२ असोज भित्र सम्पन्न गर्ने निर्णय भएको छ ।’, उनले भने, ‘यसका साथै संगठन विभाग प्रमुख एवं प्रदेश पार्टी सचिव धुव्रकुमार शाहीले पेश गर्नुभएको पार्टीको वार्षिक कार्यायोजना र वित्त विभाग प्रमुख एवं पार्टी उपाध्यक्ष कमरेड टेकराज पछाईबाट प्रस्तुत वार्षिक बजेट समेत सर्वसम्मतिले पारित भयो ।’

प्रदेश कमिटी इन्चार्ज गोरखबहादुर बोगटीले बैठकमा पार्टी आगामी २०८४ सालमा बहुमत ल्याउने गरी जनस्तरसम्म पुग्ने बताए ।

‘हामी आगामी विधान महाधिवेशनका लागि स्थानीय तह, वडासम्म पुग्दैछौँ । एमालेको विधान कस्तो बनाउने भन्ने बारेमा संगठित सदस्यहरुको सुझाव लिने काम हामी गर्दैछौँ । यसबाट पार्टी गाउँ टोलमा केन्द्रीत हुने र पार्टीलाई आगामी २०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउन सहज हुने अपेक्षा हामीले गरेका छौँ ।’ बोगटीले भने, ‘यो सँगै एमाले केन्द्र, प्रदेश सरकारले गरेका कामहरुका बारेमा पनि आम जनता, कार्यकर्तालाई सुसूचित गर्नेगरी अघि बढ्ने तयारी हाम्रो छ ।’