२८ जेष्ठ २०८३, बिहिबार

बाटोमै बच्चा जन्माएकी बाजुराकी पवित्रा लोहारको कथा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ९ साउन । आर्थिक अभावले श्रीमान् साथमा छैनन् । गाडी चढ्न पैसा छैन अनि समाजले हेर्ने दृष्टिकोणले गर्दा सरसहयोग माग्न पनि लाज लाग्छ । त्यही लाज र डरले बाजुराकी पवित्रा लोहारले सुत्केरी व्यथाले च्यापिँदा समेत स्वास्थ्यचौकी पुग्न सकिनन् र आफ्नै बलमा, बाटोमै अर्थात खुला आकाश मुनि सन्तान जन्माइन् ।

कथा केवल पवित्राको मात्र होइन, सुदूरपश्चिमका ती आमाहरूको हो,जसले बाँच्न र सन्तान जन्माउन हरेक पटक जीवनसँग संघर्ष गर्नुपर्छ । ज्यान जोखिममा राख्नुपर्छ । यस्ता कथाहरूले सबैलाई भावुक बनाउँछ । आँसु थाम्न गाह्रो बनाउँछ ।

बाजुराको बुढीगंगा नगरपालिका–७ की २२ वर्षीया पवित्रा लोहार स्वास्थ्यचौकी पुग्न नपाउँदै बाटोमै आफ्नो तेस्रो सन्तानलाई जन्म दिएको यही घट्नाले समाजप्रति प्रश्न उब्जाएको छ । माइतीघर कोटवाडाबाट सुत्केरी सेवा लिन स्वास्थ्यचौकीतर्फ हिँडेकी पवित्राले घरबाट निस्किएको केही मिनेटमै ब्यथाले च्यापेपछि बाटोमै बच्चा जन्माउनु परेको हो ।

पवित्राको माइतीघर नजिकै रहेको स्वास्थ्यचौकीसम्मको दूरी अधिकतम आधा घण्टा पैदल हिँड्नु पर्ने हो । तर रातिदेखि पेट दुखिरहेको भएपनि लाज र संकोचका कारण उनले कसैलाई केही जानकारी नदिइ बिहान ९ः३० बजे एक्लै चौकीतर्फ लागेकी थिइन् । उनले आफ्नै आमासमक्ष पनि ब्यथालागेको कुरा भन्न सकेकी थिइनन् ।

स्वास्थ्यचौकीमा खबर पुग्ना साथ अनमी मंगला कुमारी बोहराको नेतृत्वमा गएको स्वास्थ्य टोलीले बाटोमै सुरक्षित तरिकाले सुत्केरी गराएर आमा र बच्चालाई सकुशल उद्दार गरेको छ । स्वास्थ्य संस्थामा लगिएको केही समयमै सुत्केरीलाई आवश्यक सेवा दिइएको अनमी बोहराले जानकारी दिइन् ।

विवाह भएको पाँच वर्षमै तेस्रो सन्तान जन्माएकी पवित्रा अहिले २२ वर्षकी मात्र छिन् । श्रीमान भारतमा मजदुरी पेशामा रहेकाले गर्भकालदेखि सुत्केरीसम्मको सम्पूर्ण जिम्मेवारी उनले आफैंले निर्वाह गर्नु परिरहेको छ । सासु–ससुरा अलग बस्ने, आफन्त कोही नहुने र आर्थिक हैसियत कमजोर भएका कारण उनले एम्बुलेन्स समेत बोलाउन सकिनन् ।

पवित्राको घटना बाजुराजस्ता दुर्गम क्षेत्रका महिला र आमा बन्न लागेकाहरूको प्रतिनिधि पीडा हो । सुदूरपश्चिमका धेरै बस्तीहरूमा अझै स्वास्थ्य सेवा सजिलै उपलब्ध छैन । पायक पर्ने स्वास्थ्य संस्था टाढा हुनु, सडक नहुनु, परिवहन सेवा नपुग्नु र सामाजिक संकोच जस्ता कारणले महिला ब्यथा च्यापिएपछि मात्रै उपचारका लागि पुग्ने गर्दछन् ।

स्वास्थ्यकर्मीका अनुसार पवित्राको अवस्था गम्भीर हुन सक्ने थियो, तर समयमै खबर पाएको र टोली गएर उद्दार गरेकाले आमा र बच्चादुवैको ज्यान बचेको हो । पवित्रा नियमित जाँचमा जाँदै आएकी थिइन् र साउन २० गते डाक्टरले प्रसूति मिति दिएको भएपनि समयभन्दा पहिले बच्चा जन्मिएको हो ।

बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया कुँवरका अनुसार पालिकाले सुरक्षित प्रसूतिगृह निर्माणमार्फत सबै वडामा स्वास्थ्य सेवा पु¥याउने प्रयास गरेपनि व्यवहारिक रूपमा परिवार र समुदायको बेवास्ता अझै ज्यूँका त्यूँ छ । उनका अनुसार स्वास्थ्य संरचना मात्रै भएर पुग्दैन, परिवारको तयारी, माया र सहयोग नभएसम्म आमा र नवजात शिशुको सुरक्षामा ग्यारेन्टी हुँदैन ।

स्वास्थ्यकर्मी मंगला कुमारी बोहराले भनिन्,‘यहाँ अधिकांश गर्भवती महिलाहरू एक्लै अस्पताल आउँछन् । श्रीमानहरू विदेशमा छन्, परिवार बेवास्ता गर्छन । ब्यथा लागिसकेपछि मात्रै खबर गर्छन्, जुन निकै जोखिमपूर्ण हुन्छ।’

पवित्राको कथा एउटा उदाहरण मात्र हो, तर समस्या सामूहिक र परम्परागत छ । यस्तो समस्याको समाधानका लागि संरचनामात्रै होइन, चेतना, सहानुभूति र जिम्मेवारी आवश्यक छ ।