२२ असार २०८३, सोमबार

मलेसियाले नेपाललाई दियो ९१ रनको सामान्य लक्ष्य

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आयोजक मलेसियाले नेपाललाई ९१ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियाको सेलेङ्गर ट्रफ क्लबमा टस हारेर ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९० रन बनाएको हो । मलेसियाका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाउँदै आउट भए भने कप्तान डिज पार्तो ३२ बलमा १० रनमा आउट भए । मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १ विकेट लिए ।

नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । समूह चरणमा नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको छ ।

मलेसियाले समूह चरणका चार खेलमध्ये तीन खेल जितेको छ । माल्दिभ्स, थाइल्यान्ड र म्यान्मालाई हराएको मलेसियाले हङकङसँग पराजय बेहोरेको थियो ।

अघिल्लो संस्करणमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । एसिसीको आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् ।