२ असार २०८३, मंगलबार

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । यस निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएको थियो ।

नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य पद रिक्त भएको भनी सङ्घीय संसद् सचिवालयले गत चैत ३१ गते आयोगलाई जानकारी गराएको थियो ।

प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै स्थान रिक्त भएमा जुन निर्वाचन विधिबाट रिक्त भएको हो सोही प्रणालीबाट पूर्ति गरिने कानुनी प्रावधान छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यको नयाँ उपनिर्वाचन मिति घोषणा गरेको हो ।

आयोगका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता र सरोकार भएका सबैलाई आग्रह गरिएको बताइन् ।

आयोगले निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता मङ्गलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ ।

निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्तासम्बन्धी कार्य स्थगन हुने कानुनी प्रावधानअनुसार तत्कालका लागि नामावली सङ्कलन कार्य रोकिएको प्रवक्ता अर्यालले बताइन् ।