
काठमाडौं, १५ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल लगायत भूपरिवेष्ठित मुलुकहरुको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएका छन् । टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ लाई सम्बोधन गर्दै मन्त्री दाहालले भूपरिवेष्ठित मुलुकहरुले पनि समुद्रसम्मको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् ।
समारोहमा ‘भूपरिवेष्ठितबाट भुजडीत प्रयासमार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरु’ विषयमा सम्बोधन गर्दै मन्त्री दाहालले भने, ‘यदि हामी यातायात पूर्वाधारद्वारा कनेक्टिभिटी कायम गर्न सफल भयौँ भने समुन्द्री पहुँच समेत प्राप्त गर्न सकिन्छ, त्यसैले, नेपालसहित सबै स्थलाबद्ध मुलुकहरूले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै पूर्वाधार विकासमा संलग्न हुनु आवश्यक छ ।’

नेपाल लगायत भूपरिवेष्ति मुलुकहरुलाई ‘कनेक्टीभिटी’ (सडक सञ्जाल तथा पूर्वाधार)को माध्यमबाट समुद्री पहुँचसम्म पुर्याउन क्षेत्रीय सहकार्यको आवश्यकता रहेको उनले उल्लेख गरे । भूपरिवेष्ठितबाट भुजडीत बन्न, सडक, रेल, र बन्दरगाहमा मात्र नभई सहकार्य, विश्वास, र साझा दृष्टिकोणमा पनि लगानी गर्नुपर्ने भन्दै मन्त्री दाहालले नेपाल सबै विकास साझेदार, छिमेकी मुलुकहरू, तथा अन्तर्राष्ट्रिय निकायहरुसँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारे ।
छिमेकी मुलुकहरुसँगको ‘कनेक्टिभिटी’ प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले छिमेकी मुलुकहरुसँग जोड्ने रणनीतिक करिडोरहरुलाई प्राथमिकता दिएको पनि बताए । नेपालले बहुआयामिक तथा बहुदिशात्मक कनेक्टिविटी नीति अंगिकार गरेको उल्लेख गर्दै उनले निर्माणाधीन करीडोरहरुले विशाल भूगोल र जनसंख्या भएका दुई छिमेकी मुलुकहरुलाई जोड्ने उल्लखे गरे ।
विभिन्न उत्तर–दक्षिण करिडोरहरू निर्माणाधीन अवस्थामा रहेको र तिनले हिमालदेखि तराईसम्म हुँदै बन्दरगाहाहरुसम्म जोड्ने उनले बताए । ‘हामी चीनसँग ट्रान्स–हिमालयन कनेक्टिविटी परियोजनाअन्तर्गत राजमार्ग विस्तार र रेलमार्गको सम्भाव्यता अध्ययनमा संलग्न छौँ’ मन्त्री दाहालले भने, ‘नेपाल बंगलादेशका बन्दरगाहहरूसम्म पहुँच विस्तार र बिम्सटेक, बीबीआईएन जस्ता क्षेत्रीय संरचनाहरूमार्फत दक्षिण–पूर्वी एशिया सम्म जोड्ने योजनामा कार्यरत छ ।’
नेपाल प्राकृतिक विपद् बाढी, पहिरो, र भूकम्पप्रति अत्यन्त संवेदनशील मुलुक रहेको उल्लेख गर्दै मन्त्री दाहालले हिमाल, पहाड, चुरे भावर, तराई जस्ता विशिष्ट भौगोलिक अवस्था रहेको नेपालमा कमजोर माटो र मिश्रित चट्टानी संरचनामा आधारित भएका कारण पहिरोको जोखिम उच्च रहेको पनि बताए ।
हिमाली क्षेत्रका हिउँदे नदीहरू तीव्र गतिको साथ बग्ने, पहाडी क्षेत्रमा बेगवान हुने र तराईमा आइपुग्दा समेत तीव्रता कायमै हुने गरेका कारण नेपालले हरेक वर्ष बाढी र पहिरोबाट ठूलो क्षति व्यहोर्नु परेको उनले बताए । यस प्रकारको भौगालिक अवस्था र विशिष्टता पनि नेपालको यातायात पूर्वाधारका लागि प्रमुख चुनौती रहेको मन्त्री दाहालले प्रष्ट पारे ।
२६ जुनमा टर्की पुगेका मन्त्री दाहाललाई विमानस्थलमा टर्कीका यातायात राज्यमन्त्रीले स्वागत गरेका थिए ।









प्रतिक्रिया