
विराटनगर, १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले किसान पहिलो भन्ने अभियान साथ काम गरिरहेको बताएका छन् ।
आज धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस महत्त्वपूर्ण दिनको रुपमा रहेको बताएका हुन् । उनले जलवायु परिवर्तनले कृषिमा उत्पादनमा असर परिरहेको बताउँदै यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने औंल्याए । प्रदेश सरकारले किसान पहिलो भन्ने अभियानका साथ काम गरेको चर्चा गर्दै उनले यस वर्षको नीति कार्यक्रम र बजेटमा किसान पहिलो भन्ने विषयलाई प्राथमिकता दिएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
पछिल्लो समयमा बसाईसराई र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसतर्फ ध्यान दिनुपर्ने जोड दिए । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्नका लागि पनि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।
यसैबीच, मुख्यमन्त्री कार्कीले विराटनगरमा रहेको ओबी मिडियाले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा धान रोपेका छन् । यस अवसरमा उनले धान उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए ।








प्रतिक्रिया