१२ असार २०८३, शुक्रबार

चौदण्डीगढी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री प्रदान

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, १४ असार । उदयपुरको चौदण्डीगढी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री प्रदान गरेको छ । शनिबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर अपाङ्गता भएका १७ जनालाई सहायक सामाग्री हस्तान्तरण गरेको हो ।

नगरपालिकाले ९ लाख ४२ हजार ४ सय ९८ रुपैयाँ खर्चेर १७ जना अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क खुट्टा वितरण गरेको हो ।

चौदण्डीगढी नगरपालिकाको तथ्यांकमा नगर भित्र १ हजार ३८ जना अपाङ्गता भएका व्यक्तिहरु छन् । उनीहरु मध्ये कोहीको खुट्टा, कोहीको हात, केहीलाई कानमा सहायक कृतिम सामाग्रीको आवश्यकता रहेको छ ।

चौदण्डीगढी नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत सहभागितामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत उनीहरुलाई नगरपालिकाले कृतिम सहायक सामग्री प्रदान गर्दै आएको छ । यसअघि पनि नगरपालिकाले विभिन्न खाले सहायक सामग्रीहरु ह्विल चेयर, हेयरिङ एड, एल छडी, बैसाखी, वाकर लगायतका सामाग्री वितरण गरेको थियो ।

शनिबार सहायक सामाग्री वितरण गर्दै नगरपालिकाका मेयर कालुमान लामाले नगर भित्रका सबै खाले अपाङ्गता भएका व्यक्तिहरुलाई आवस्यक सहायक सामाग्री नगरपालिकाले निःशुल्क उपलब्ध गराउने बताए ।

नगरपालिकाको विभिन्न सेवा सुविधाको पहुँचमा समेत नपुग्ने कुरालाई मध्यनजर गर्दै नगरपालिकाले पहाडी क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई वडा वडामै पुगेर सहयोग गर्दै आएको नगर उपप्रमुख मणिकादेवी दुलालले जानकारी गराइन् ।

भारतमा भएको सवारी दुर्घटनामा आफ्नो खुट्टा गुमाएका लालबहादुर विश्वकर्माले नगरपालिकाले दिएको सहायक सामाग्री कृतिम खुट्टा लगाउँदै नगरपालिका आफ्नो लागि भगवान भएको बताए । उनले आफूले धेरै संघसंस्था र व्यक्तिहरुलाई यसअघि अनुरोध गर्दा आफूले कृतिम खुट्टा पाउन नसको दुखेसो पोख्दै भने आज नगरले लगाइदिएको कृतिम खुट्टाले आफू मजाले हिँड्न सकेकोमा खुशी हुँदै गहभरी आँसु पारेर भने– मेरो लागि नगरपालिका भगवान बन्यो ।

चौदण्डीगढी नगरपालिकाले नगर भित्रका अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई पनि छिट्टै सहायक सामाग्री उपलब्ध गराउने जनाएको छ ।