
पोखरा, १४ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली क्रान्ति र समाजको विकासमा जनताको बहुदलीय जनवाद (जबज) नेतृत्वदायी विचार भएको बताएका छन् ।
जननेता मदन भण्डारीको ७४औं जन्मजन्तीको अवसरमा एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशलाई सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणसहित समृद्धिको गोरेटोमा अघि बढाउन जबजले मार्गदर्शन गरिरहेको उल्लेख गरेका हुन् ।

महासचिव पोखरेलले जनताको बहुदलीय जनवादले समग्र नेपाली राजनीतिक दलहरूलाई मार्गनिर्देशन दिएको बताउँदै यसको ऐतिहासिकता, आवश्यकता, औचित्य र सान्दर्भिकता झन् झन् प्रबल र महत्वपूर्ण हुँदै गएको उल्लेख गरे । जबजका स्थापित मान्यताका आधारमा मात्र देश निर्माणको जग बलियो हुने महासचिव पोखरेलको धारणा छ ।
उनले जनताको बहुदलीय जनवादले आत्मसात गरेका मान्यताहरू नेपाली कम्युनिष्ट आन्दोलनका कोशेढुंगा भएको र सर्वस्वीकृत मान्यता बनिसकेको बताए । नेपाली क्रान्ति र समाजको विकासमा नेतृत्वदायी विचारका रूपमा जबज स्थापित भएको र विचार निर्माणमा यसले महत्वपूर्ण जग निर्माण गरेको उनको भनाइ थियो ।
कार्यक्रममा प्राध्यापक डा. यदुनन्दन ढकाल, कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सदस्य मञ्जु गुरुङ, प्रतिनिधि सभा सदस्य दामोदर वैरागी, एमाले प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, कास्की अध्यक्ष वैन बहादुर क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा पार्टीको मुखपत्र ‘अभियान’को विमोचन पनि गरिएको सचिव सुशील बस्नेतले जानकारी दिए ।









प्रतिक्रिया