२३ असार २०८३, मंगलबार

७४औं मदन जयन्ती विशेष : हेटौंडामा कविता प्रतियोगिता, आकांक्षा भइन् प्रथम

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ असार । मदन भण्डारी फाउण्डेसन मकवानपुरद्वारा आयोजित ७४औं मदन जयन्तीको अवसरमा सञ्चालन गरिएको तीनदिवसीय कार्यक्रमअन्तर्गत आज दोस्रो दिनको प्रमुख आकर्षणका रूपमा कविता प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

हिजो असार १२ गतेबाट सुरु भएको कार्यक्रमअन्तर्गत कविता प्रतियोगिताका लागि २३ जना विद्यार्थीले कविता पठाएका थिए । ती मध्ये १४ जना विद्यार्थीहरू सर्टलिस्टमा परेका थिए ।

आज सम्पन्न कार्यक्रम मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

कविता प्रतियोगितामा जिएस निकेतनकी आकांक्षा निरौला प्रथम, ब्रह्मादिक एकेडेमीकी किस्मा लडौरी द्वितीय र नवोदयकी अनुषा उप्रेती तृतीय भइन् । विजेताहरूलाई क्रमशः ७,००० रुपैयाँ, ५,००० रुपैयाँ र ३,००० रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले स्व. मदन भण्डारीको विचार, दूरदृष्टि र सामाजिक न्यायमा आधारित नीतिहरूलाई आजका पुस्ताले आत्मसात गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रा.डा. शंकरप्रसाद उपाध्याय, जिल्ला समन्वय समितिका पूर्वउपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिका वडा नं. ११ की अध्यक्ष जुना दाहाल, जिल्ला आयुर्वेदिक अस्पतालका अध्यक्ष अर्जुन ढकाल, बुद्धिजीवी घनश्याम घिमिरे, सहशिक्षा प्रमुख मनोज पोखरेल, तथा साहित्यकार दीपक गौतम, विशाल अधिकारी ‘आँशुतोष’, देवी बर्तौला, दलित अभियन्ता सानो भाइ विश्वकर्मा र पत्रकार सुनिल गौतमको समेत उपस्थिति थियो ।

कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष धर्म बस्नेत, कोषाध्यक्ष गोकर्ण तिवारी, तथा सदस्यहरू किताबसिंह लामा, खेमराज जर्गा, किरण लामिछाने, निर्मला ब्लोन,सम्झना सुवेदी लगायत जिल्लाका विभिन्न विद्यालयका शिक्षकलगायतरको उल्लेखनीय सहभागिता रहेको थियो ।

भोलि असार १४ गते तीनदिवसीय कार्यक्रमको अन्तिम दिन सहिद स्मारकमा बिहान ७ बजे मदन भण्डारीको शालिकमा माल्यार्पण कार्यक्रम रहेको फाउण्डेसनका सचिव कुमार केसीले जानकारी दिए ।

कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै, स्व. मदन भण्डारीका विचारहरूलाई युवापुस्तासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाई थियो ।