३० असार २०८३, मंगलबार

मनमोहन अधिकारीको १०५औं जन्मजयन्तीमा निःशुल्क स्वास्थ्य शिविर, २ सय जनाले लिए सेवा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १२ असार । नेपालका सर्वाधिक लोकप्रिय तथा प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १०५औं जन्मजयन्तीको अवसरमा ज्येष्ठ नागरिकका लागि बृहत् स्वास्थ्य शिविर कार्यक्रम गरिएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानले सानेपास्थित प्रतिष्ठानको प्राङ्गणमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्घाटन प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, “मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो भन्ने मूल मन्त्र बोकेका नेता मनमोहन अधिकारीको सम्झनामा आयोजित यस शिविरले उहाँको समाजवादी दृष्टिकोणको जीवन्त अभ्यास गरेको छ।” उनले सबै सहभागी चिकित्सक टोली, स्वयंसेवक तथा सेवाग्राहीप्रति आभार प्रकट गर्दै यस्तो कार्यक्रम नियमित रूपमा हुनुपर्ने आवश्यकता पनि औँल्याए ।

ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी गरिएको यो शिविरले ललितपुर महानगरपालिका क्षेत्रका करिब २०० जनालाई सेवा दिएको मनमोहन स्मृति प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत आशिष रेग्मीले जानकारी दिए । स्वास्थ्य शिविरमा वीर अस्पतालका पूर्वनिर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेल, जेरियाट्रिक विशेषज्ञ डा. उमेश बोगटी, आन्तरिक रोग विशेषज्ञ डा. अनन्त अर्याल लगायत वरिष्ठ चिकित्सकहरूको टोलीले सेवा दिएका थिए ।

शिविरमा रक्तचाप (प्रेसर) मापन, रक्तमा ग्लुकोज (सुगर) जाँच, हृदय परीक्षण (इसीजी), सामान्य स्वास्थ्य परामर्श, वृद्धवृद्धाहरूका लागि विशेष जेरियाट्रिक लगायतका निःशुल्क सेवाहरू उपलब्ध गराइनुको साथै निःशुल्क औषधि प्रदान गरिएको थियो ।

चिकित्सकहरूको भनाइ अनुसार शिविरमा अधिकांश वृद्ध नागरिकहरूलाई हाई ब्लड प्रेसर, डायबेटिज, ग्याष्ट्रिक समस्या, जोर्नी दुखाइ लगायतका स्वास्थ्य समस्याहरू रहेको पाइएको थियो ।

स्वास्थ्य शिविरमा ललितपुर महानगरपालिका क्षेत्रका विभिन्न वडाबाट आएका नागरिकहरूको उल्लेखनीय सहभागिता रह्यो । ७५ वर्षीय नन्दलाल महर्जन भन्छन्, “हामीजस्ता वृद्धहरूलाई यस्तो शिविरले ठूलो राहत दिन्छ। अस्पताल पुग्न गाह्रो हुन्छ, यस्ता सेवा गाउँमै आइदिएको अनुभव भयो ।”

५५ वर्षीया दुर्गा खड्काले भनिन्, “चिनी चेक गर्न र इसीजी गर्न अस्पताल जान सकिएको थिएन । यहाँ निःशुल्क सेवा पाएर धेरै खुशी लाग्यो । मनमोहनजस्ता नेताको सम्झनामा यस्तो काम हुनु रमाइलो पनि लाग्यो ।”

मनमोहन स्मृति प्रतिष्ठानका कार्यकारी प्रमुख रेग्मीले भविष्यमा स्वास्थ्य, शिक्षा र सचेतना अभिवृद्धिका कार्यक्रमहरू थप व्यापक रूपमा सञ्चालन गर्ने योजना रहेको बताए । उनले भने, “हामी जननेता मनमोहनको विचारलाई व्यवहारमा उतार्न चाहन्छौँ । उहाँले देखाएको समाजवादको बाटो विकास, न्याय र समानताको बाटो हो ।”

नेता मनमोहन अधिकारीको जीवन, दर्शन र नेतृत्व शैली अझै पनि नेपाली समाजका लागि प्रेरणादायी रहँदै आएको छ । उनको १०५औं जन्मजयन्तीमा गरिएको यो स्वास्थ्य शिविर केवल एउटा सामाजिक कार्यक्रम मात्र नभई राजनीति, सेवा र नेतृत्वबीचको सम्बन्धको गहिरो सन्देश पनि हो ।