२१ असार २०८३, आइतबार

११ दिने बेलायत र कतार भ्रमण सकेर फर्कियो महासचिव पोखरेलसहितको टोली

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा ११ दिने बेलायत र कतार भ्रमण सकेर पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासचिव पोखरेलसहितको टोलीलाई पार्टी सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्य आनन्द पोखरेल, कार्यालय सचिव डा भीष्म अधिकारी, प्रवास सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेतलगायत नेताहरूले स्वागत गरेका छन् । महासचिव पोखरेलसँग एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य र केन्द्रीय सदस्य तथा युरोप–अमेरिका प्रवास क्षेत्रका इन्चार्ज घनश्याम पाण्डे भ्रमण टोलीमा थिए ।

महासचिव पोखरेलको यो भ्रमण बेलायत र कतारस्थित प्रवासी नेपाली समुदायसँग सम्बन्ध विस्तार गर्ने, नेपालको राजनीतिक अवस्था र पार्टीको भावी कार्यदिशाबारे जानकारी गराउने तथा विदेशी नीति निर्मातासँग छलफल गर्ने उद्देश्यले गरिएको हो ।

बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले प्रवासी नेपाली मञ्च युकेको नवौँ सम्मेलनको उद्घाटन तथा सम्बोधन गरे । सम्मेलनमा बेलायतका विभिन्न सहरमा सक्रिय नेपाली प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

भ्रमणको क्रममा पोखरेलले लण्डनस्थित नेपाली दूतावासद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिसँग समसामयिक राजनीतिक विषयमा संवाद गरेका थिए । उनले भ्रमणको क्रममा बेलायती सरकारका मन्त्री तथा सांसदहरूसँग भेट गरी नेपाल–बेलायत सम्बन्धको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरेका थिए । यस क्रममा भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको समान पेन्सन सुविधा, द्विपक्षीय सहयोग आदान–प्रदान, विकास सहायता, उच्चस्तरीय राजनीतिक भ्रमण र नेपालमा लगानी वृद्धिका सम्भावनाबारे छलफल भएको थियो । यसका अतिरिक्त लण्डन जुलोजिकल सोसाइटीमा आयोजित छलफल कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तन, जैविक विविधता, मानव–वन्यजन्तु द्वन्द्व, स्थानीय समुदायको जीविकोपार्जन र हिमाली क्षेत्रका समस्याका बारे धारणा राखेका थिए । भ्रमण टोलीले बेलायतका तीन प्रमुख विश्वविद्यालयहरूको अवलोकन गरी शैक्षिक सहकार्यको सम्भावनाबारे जानकारी लिएको थियो।

टोलीले संसदीय प्रजातन्त्रको जननी मानिने बेलायती संसद्को समेत भ्रमण गरेको थियो । बेलायती सांसदहरूसँग नेपालका समसामयिक राजनीतिक चुनौती, संसदीय अभ्यास र लोकतान्त्रिक संस्थाहरूको भूमिकाबारेमा विचार विमर्श भएको थियो।

भ्रमणका क्रममा ब्रिटिस गोर्खाको हकहितसम्बन्धी विषय पनि प्राथमिकताका साथ उठाइएको थियो । महासचिव पोखरेलले उक्त मुद्दामा बेलायती पक्षको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

कतार भ्रमणको क्रममा प्रवासी नेपाली मञ्च, कतारद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले नेपालको वर्तमान राजनीतिक अवस्था र पार्टीको दृष्टिकोणबारे मन्तव्य राखेका थिए । दोहास्थित नेपाली दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिसँग संवाद गर्दै उनले प्रवासी नेपालीहरूको योगदानको उच्च मूल्याङ्कन गरे ।

कतारका लागि नेपालका पूर्वराजदूत, प्रवासी उद्योगी तथा व्यवसायीहरूसँगको छुट्टै छलफलमा महासचिव पोखरेलले नेपालमा लगानी प्रवाहका सम्भावना र आवश्यक सरकारी संरचनाबारे जानकारी गराएका थिए । कतारमा रहेका नेपाली उद्योगीहरूको चासोका विषयका बारेमा पनि छलफल भएको थियो ।

महासचिव पोखरेलले आफ्नो भ्रमणलाई सफल र सार्थक बनाउन सहयोग गर्ने प्रवासी नेपाली मञ्चका पदाधिकारी, दुवै देशका नेपाली राजदूत र त्यहाँ रहेका समुदायका अगुवालाई आभार व्यक्त गरेका छन् । उनले भ्रमणको उद्देश्य सत्य–तथ्य जानकारी गराउने र प्रवासी नेपालीहरूलाई पार्टीको कार्यदिशामा जोड्ने रहेको जनाउँदै भ्रमणले ती लक्ष्यलाई एक हदसम्म पूरा गरेको महसुस भएको प्रतिक्रिया दिए ।

महासचिव पोखरेल नेतृत्वको यो भ्रमणले प्रवासी नेपाली समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै अन्तर्राष्ट्रिय सरोकारका विषयमा प्रत्यक्ष संवाद स्थापित गरेको विश्वास गरिएको छ । उनले बेलायत र कतार दुवै देशका सरकारी तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूसँगको भेटघाटले नेपालको छवि प्रवर्द्धनमा योगदान पुर्‍याएको बताएका छन् ।

विमानस्थलमा महासचिवको स्वागतका क्रममा केही दिनका लागि विदेश भ्रमणमा जान लागेका पार्टी सचिव योगेश भट्टराईलाई समेत उपस्थित नेताहरूले बिदाइ गरेका थिए ।

नेपाल फर्किए लगत्तै महासचिव पोखरेलले भ्रमणको अनुभव र त्यसका उपलब्धिहरूबारे जानकारी गराएका थिए । उनले विशेषतः प्रवासी नेपाली समुदायमा रहेका एमाले समर्थकहरूको उत्साह, देशप्रतिको प्रतिबद्धता र पार्टीप्रतिको विश्वासले थप ऊर्जा प्राप्त भएको अनुभव सुनाए ।