२ असार २०८३, मंगलबार

अमरेशकुमार सिंहको अभिव्यक्ति राष्ट्रघाती : अनेरास्ववियु

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । अनेरास्ववियुले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको संसद्मा व्यक्त अभिव्यक्तिलाई देशघाती भन्दै गम्भीर आपत्ति जनाएको छ ।

अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाद्वारा जारी विज्ञप्तिमा सिंहको अभिव्यक्तिलाई संघीय संसद्को गरिमा र नेपालको सार्वभौमिकतामाथि गरिएको सिधा प्रहारको रूपमा लिइएको छ ।

‘सार्वभौम नेपालको सर्वोच्च थलो संघीय संसद्को रोस्टम प्रयोग गरी सांसद अमरेशकुमार सिंहले दिएका देशघाती अभिव्यक्तिप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो किसिमको गैरजिम्मेवार र राष्ट्रको अस्तित्वमाथि प्रहार गर्ने अभिव्यक्तिलाई अनेरास्ववियु कडा शब्दमा भर्त्सना गर्दछ ।’

अनेरास्ववियुले सांसद सिंहसँग तुरुन्तै अभिव्यक्ति फिर्ता लिनुका साथै सम्पूर्ण नेपाली जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ । अन्यथा राष्ट्रघाती प्रवृत्तिको प्रतिकारमा आफूहरू जुनसुकै कदम चाल्न तयार रहने चेतावनीसमेत दिएको छ ।

विज्ञप्तिमा सभामुख देवराज घिमिरेसँग सांसद सिंहलाई संसदबाट तत्काल निलम्बन गर्न समेत माग गरिएको छ । ‘राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र गरिमामय संसद्को रक्षा गर्नु सम्पूर्ण राष्ट्रभक्तको कर्तव्य हो, यसमा कुनै सम्झौता हुन सक्दैन’, विज्ञप्तिमा उल्लेख छ ।

सांसद सिंहले बजेट छलफलको क्रममा केही जिल्लामा मात्रै विकासको ध्यान दिइएको भन्दै बाँकी ७२ जिल्लालाई भारत, चीन वा अमेरिकालाई लिजमा दिन सकिने अभिव्यक्ति दिएका थिए । जसको चौतर्फी आलोचना भइरहेको छ ।

सभामुखले उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिइसकेका छन् ।