
काठमाडौं, ७ असार । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टी भित्र कुनै विवाद नरहेको बताएका छन् । एमाले सिन्धुलीको आठौं जिल्ला प्रतिनिधि परिषद् सदस्यहरूको दोस्रो बैठकलाई सम्बोधन नेता डा. भट्टराईले यस्तो बताएका हुन् ।
अतिथिका रूपमा सम्बोधन गर्दै उनले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी आक्रमण भइरहँदा एमालेका नेता कार्यकर्ताको मनोगत अवस्थाले समस्या सिर्जना भएको बताए । उनले विरोधीहरूको आक्रमणविरुद्ध सबै नेता कार्यकर्तालाई प्रतिवाद गर्न सुझाए । आजको पुँजीवादी अर्थतन्त्र र व्यवस्था कमजोर बनेको बताउँदै नेता भट्टराईले समाजवादी व्यवस्था बलियो भन्न थालेको उल्लेख गरे । उनले अहिले विश्वमा समाजवादी व्यवस्थाको नेतृत्व चीन, भियतनाम र लाओसले गरिरहेको बताए ।
एमालेको मूल नेतृत्व र तल्लो तहमा समस्या नरहे पनि बरण्डामा समस्या देखिएको भट्टराईले बताए । उनले अगाडि भने, ‘नेतृत्वमा समस्या छैन, विचारमा समस्या छैन, तर बीचको नेतृत्वमा समस्या देखियो, त्यो समस्या समाधान गर्न तपाईं सम्पूर्णको जिम्मेवारी हो । बागमती प्रदेश कमिटीमा कुनै समस्या नरहे पनि जिल्ला तहमा समस्या छ, पार्टी जसरी चल्नु पर्दथ्यो, त्यसरी चलेन ।’ उनले पार्टी विधान, विधि र पद्दतिविरुद्ध उभिने र उभ्याउने कामलाई निरुत्साहित गर्न प्रतिनिधि परिषद् सदस्यहरुलाई सुझाव दिए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख अतिथयतामा भएको कार्यक्रममा एमाले सिन्धुलीका जिल्ला इन्चार्ज मनोज जंग थापाले आफ्नो मन्तव्य राखेका थिए ।
जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपसचिव दिपेश बरालले स्वागत मन्तव्य राखेको जिल्ला पार्टी प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।









प्रतिक्रिया