
काठमाडौं, ७ असार । नेकपा (एमाले) कोशी प्रदेश सम्पर्क कमिटीले नेता कार्यकर्तालाई पार्टी, सरकार र समाजका विषयमा आधारभूत ज्ञान दिने उद्देश्यले प्रशिक्षण दिएको छ ।
प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरुलाई अलग अलग विषयहरुमा हरेक शनिबार नियमित प्रशिक्षण सञ्चालन भइरहेको सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार प्रदेश तहका नेता कार्यकर्तालाई १६ वटा विषय र जिल्ला तहका कार्यकर्तालाई ४ वटा विषयमा प्रशिक्षण भइरहेको छ । यो प्रशिक्षण गत वर्षदेखि नियमित सञ्चालन भइरहेको छ । आगामी दुई हप्तामा पहिलो चरणको प्रशिक्षण समापन हुने घिमिरेले जानकारी दिए ।
हरेक शनिबार च्यासलमा करिब तीन घण्टा यो प्रशिक्षण सञ्चालन हुने गरेको छ । घिमिरेका अनुसार प्रदेश तहका पदाधिकारी तथा सदस्यलाई उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले मार्गदर्शन सिद्धान्त मार्क्सवाद र जनताको बहुलीय जनवाद र ऐतिहासिक भौतिकवाद विषयमा प्रशिक्षण दिएका छन् । स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले नेपालको भूराजनीति र कुटनीतिक सम्बन्ध बारेमा प्रशिक्षण दिएका छन् ।
यसैगरी, पार्टी लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेलले मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी राजनीतिका विषयमा प्रशिक्षण दिएका छन् ।
यस्तै, मार्गदर्शक सिद्धान्त लेनिनवाद र केपी ओली सरकारका काम भ्रम र यथार्थ विषयमा सांसद ईश्वरी रिजालले प्रशिक्षण दिएका छन् । समाजको परिचय र विकासक्रमका बारेमा प्रा.डा. रमेश भट्टराई र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र र सकारका कामका विषयमा प्रशिक्षण दिएको घिमिरेले जानकारी दिए ।
यसैगरी, प्रचारात्मक कामको महत्व र सूचना प्रविधिका विषयमा स्थायी कमिटीका सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले प्रशिक्षण दिएका छन् ।
प्रदेश सम्पर्क मञ्च अन्तरगतका १४ वटा जिल्लाका पदाधिकारी तथा सदस्यहरुलाई पनि प्रशिक्षण जारी रहेको छ । जसमा मार्क्सवाद, लेलिनवाद, जनताको बहुदलीय जनवादका विषयमा पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले प्रशिक्षण दिएका छन् । केपी ओली सरकारले गरेका काम भ्रम र यर्थाथका बारेमा सांसद इश्वरी रिजालले प्रशिक्षण दिएका छन् ।
यसैगरी, सम्पर्क मञ्च विगत वर्तमान यसका निर्देशिका बारेमा केन्द्रीय कमिटी सदस्य नरेन्द्र श्रेष्ठ र निर्वाचन आयोगका सदस्य कृष्ण आङ्दम्बेले प्रशिक्षण दिएका छन् ।
आजको प्रशिक्षणमा शुभकामना दिन पुगेका पार्टीका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डितले कोशी प्रदेश सम्पर्क कमिटीले नियमित पार्टी स्कूल सञ्चालन गरेर अनुकरणीय काम गरेको बताए ।
उनले पार्टीका सबै तहका कार्यकर्तालाई राजनीतिक रुपमा प्रशिक्षित गर्नु जरुरी रहेको तर विविध कारणले छुटिरहेकाहरुलाई सम्पर्क मञ्चमार्फत विचारको प्रशिक्षण सञ्चालन गरेकोमा धन्यवाद दिएका छन् ।









प्रतिक्रिया