१५ असार २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ७ असार । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत बजेटमात्रै खर्च गरेको छ ।

चालु आव २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत अर्थात् १३ अर्ब ३३ करोड चार लाख रुपैयाँ खर्च गरेको हो । यस अवधिमा प्रदेश सरकारले चालुतर्फ छ अर्ब ९७ करोड दुई लाख रुपैयाँ र पुँजीगततर्फ छ अर्ब ३६ करोड दुई लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले जानकारी दिए ।

उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी पाँच अर्ब ७९ करोड ३३ लाख रुपैयाँ बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले दुई अर्ब ८६ करोड ७३ लाख रुपैयाँ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९९ करोड ६७ लाख रुपैयाँ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ९२ करोड ७६ लाख रुपैयाँ खर्च गरेको उनले जानकारी दिए ।

कार्यालय प्रमुख जोशीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १६ करोड ७५ लाख रुपैयाँ, आर्थिक मामिला मन्त्रालयले ११ करोड ९२ लाख रुपैयाँ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पाँच करोड २१ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, प्रदेश व्यवस्थापिकाले १३ करोड ४१ लाख रुपैयाँ, प्रदेश नीति तथा योजना आयोगले दुई करोड ११ लाख रुपैयाँ र प्रदेश लोकसेवा आयोगले ४४ लाख रुपैयाँ खर्च गरेको उनले जानकारी दिए ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये, चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख रुपैयाँ र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।