१८ असार २०८३, बिहिबार

बिपी राजमार्गमा राति सवारी चलाउन रोक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, ७ असार । बिपी राजमार्गमा शनिबार राति १२ः३० देखि बिहान ५ः०० बजेसम्म १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाइने भएको छ ।

काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको आजको बैठकले यो निर्णय गरेको हो । मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ ।

गत साल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा भने सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आवतजावत गर्छन् ।

बाढीपहिरोले राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ ।