३ असार २०८३, बुधबार

कैलाली भन्सारद्वारा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ४ असार । कैलाली भन्सार कार्यालयले ११ महिनामा सात अर्ब ८१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८९ करोड ६३ लाख रुपैयाँ, मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब ९१ करोड ७५ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ १९ करोड ५१ लाख रुपैयाँ र अन्यतर्फ एक अर्ब ८० करोड ३९ लाख रुपैयाँ सङ्कलन गरेको छ ।

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६९ दशमलव ९९ प्रतिशत छ । चालु आवको साउनमा ५७ करोड ५० लाख रुपैयाँ, भदौमा ५३ करोड ८४ लाख रुपैयाँ, असोजमा ६७ करोड २४ लाख रुपैयाँ, कात्तिकमा ६२ करोड ७८ लाख रुपैयाँ, मङ्सिरमा ८१ करोड १३ लाख रुपैयाँ र पुसमा ६५ करोड ८७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, माघमा ७३ करोड दुई लाख रुपैयाँ, फागुनमा ७२ करोड ७६ लाख रुपैयाँ, चैतमा ७८ करोड ८० लाख रुपैयाँ, वैशाखमा ८१ करोड ८० लाख रुपैयाँ र जेठमा ८७ करोड १३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयातमा कमी हुनु तथा यस्तै विविध कारणले राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको सूचना अधिकारी अर्यालले बताए ।

गत आवमा ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा सात अर्ब ९१ करोड ८० लाख रुपैयाँ मात्र सङ्कलन भएको थियो ।